भक्तपुरमा विप्लव समूहको दादागिरी, उजुरी गर्दा जग्गा कब्जा !

काठमाण्डु टुडे २०७६ जेठ २२ गते १३:१८ मा प्रकाशित

काठमाण्डु, २२ जेठ – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले भक्तपुरमा जग्गा कब्जा गरेको छ ।

सोमबार भक्तपुरको चाँगुनारायण नगरपालिका–२ दुवाकोटमा रहेको कित्ता नम्बर १७९७ रहेको एक रोपनी एक दाम क्षेत्रफल भएको जग्गा जिल्ला जनपरिषद भक्तपुरले कब्जा गरेको हो ।

सो जग्गा चाँगुनारायण–५ छालिङकी निर्मलाकुमारी पुरी र भक्तपुर नपा १० कमलविनायक निवासी चन्द्रमाया सुवालको संयुक्त नाममा रहेको छ ।

अनपढ महिलालाई दबाब र प्रलोभन दिएर जग्गा भूमाफियाले कब्जा गरेको र ती महिलाले न्याय नभएपछि आफ्नो पार्टीमा उजुरी गर्न आएपछि जग्गा कब्जा गरेको भक्तपुर जिल्ला जनपरिषद् प्रमुख एससीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

परिषद्ले सो जग्गामा झण्डा गाड्नुका साथै ‘यो जग्गा कुनै पनि व्यक्तिले हडप्न पाइँदैन । अन्यथा जनपरिषदले कडा कारबाही गर्नेछ’ लेखिएको ब्यानरसमेत राखेको छ ।

परिषद्मा उजुरी परिपछि सोही क्षेत्रमा गएर स्थानीय बुद्धिजीवी, समाजसेवी र भद्रभलादमीको छलफलमा महिलामाथि अन्याय भएको प्रमाणित भएपछि सो जग्गा कब्जामा लिएको विज्ञप्तिमा उल्लेख छ ।

परिषदले पैसा र पहुँचका आधारमा जग्गामाथि चलखेल गरे कडाभन्दा कडा कारबाही गर्ने चेतावनी समेत दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us