गरिबी हटाउन युवा वैज्ञानिकहरुलाई माधव नेपालको आग्रह

काठमाण्डु टुडे २०७६ जेठ २२ गते १२:४३ मा प्रकाशित

काठमाण्डु, २२ जेठ – नेपालमा सार्क युवा वैज्ञानिकहरुको सम्मेलन सुरु भएको छ । प्रदेश ३ को उद्योग, पर्यटन तथा वातावरण मन्त्रालय र त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागको संयुक्त आयोजनामा बुधबारबाट ललितपुरमा सम्मेलनको सुरु गरिएको हो ।

सार्क क्षेत्रमा भएका विज्ञान र प्रविधिको उपलब्धिहरुको अनुभव साटासाट गर्ने उद्देश्यले आयोजना गरिएको सम्मेलनको उद्घाटन गर्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का पूर्व प्रधानमन्त्री एवम् वरिष्ठ नेता माधवकुमार नेपालले मुलुकमा विद्यमान गरिबी हटाउने गरी विज्ञान र प्रविधिको क्षेत्रमा काम गर्न युवा वैज्ञानिकहरुलाई आह्वान गरे ।

उनले सरकारले विज्ञान र प्रविधिको विकास गरेर मुलुकलाई समृद्ध बनाउन चाहेको बताउँदै उनले सोही अनुसारको वैज्ञानिक खोज तथा अनुसन्धानमा लाग्नुपर्नेमा जोड दिए । नेता नेपालले जमिन, पानी र वन क्षेत्रको उचित परिचालन गरेर मुलुकलाई समृद्ध बनाउन सकिने बताए ।

दुई दिनसम्म चल्ने सम्मेलनमा जर्मनी, बेलायत, फिनल्याण्डसहितका देशका युवा वैज्ञानिकहरुको सहभागिता रहेको छ । सम्मेलनमा १६ वटा अन्तराष्ट्रिय युवा वैज्ञानिकहरुको कार्यपत्र प्रस्तुत हुनेछ । त्यसैगरी नेपालका ३५ जना युवा बैज्ञानिकहरुले विज्ञान तथा प्रविधिको विकासमा केन्द्रीत भएर आफ्नो कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us