युवा विदेश छिरेपछि गाउँमा बुढापाकालाई समस्या

काठमाण्डु टुडे २०७६ जेठ २२ गते १०:१९ मा प्रकाशित

सिरहा, २२ जेठ – युवा रोजगारीको खोजीमा खाडी मुलुक छिर्ने क्रम बढेपछि सिरहामा घरायसी काम तथा खेतीपाती लगाउन र भित्र्याउन समस्या हुन थालेको छ ।

घरमा युवा नहुँदा बूढापाकाले सास्ती भोग्न थालेका छन् । सरकारले युवा लक्षित विभिन्न सीपमूलक काम सञ्चालन गरे पनि सीप सिकेका युवा त्यही प्रमाणपत्र लिएर वैदेशिक रोजगारीमा जाने क्रम बढेको छ ।

गाउँमा युवा नभएपछि दक्ष जनशक्तिको अभाव हुनुका साथै पारिवारिक काममा समेत समस्या उत्पन्न भएको छ । भदैयाका विष्णुदेव चौधरीले भने, ‘स्वदेशमै कुनै अवसर उपलब्ध गराउन सके बेलाबखत भए पनि युवा गाउँमा आउँथे, अनि थोरबहुत सहयोग पुग्ने थियो । विदेशिएपछि वर्षौसम्म आउँदैनन्, अनि समस्या झन् थपिँदै जाँदोरहेछ ।’

गाउँका युवा विदेश पलायन हुँदै गएपछि अहिले विवाह, व्रतबन्ध तथा मर्दापर्दा लास बोकेर आर्यघाटसम्म पु¥याउनसमेत कठिन हुने गरेको लहानस्थित जेएस मुररका बहुमुखी क्याम्पसका स्ववियु सभपति अशोककुमार चौधरीले बताए ।

गाउँमा पर्याप्त युवा जनशक्ति नभएपछि समाजमा मर्दापर्दाको समयमा गाउँमा भएका दुई–चार युवाले मात्र काम गर्ने गरेको उनले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us