
कलैया, २१ जेठ – बारामा दम्पति सवार मोटरसाइकललाई ट्रिपरले ठक्कर दिदा श्रीमतीको मृत्यु भएको छ भने श्रीमान गम्भीर भएका छन् ।
इदुल फित्र पर्व मनाउन घर जादै गरेका दम्पति सवार मोटरसाइकल कलैया पिलुवा सडकखण्डअन्तर्गत बाराको कलैया उपमहानगरपालिका २६ श्रीपुरमा मङगलबार दिउँसो ट्रिपरले ठक्कर दिँएको हो ।
ट्रिपरको ठक्करबाट बाराको सिसवा महेशपुरकी ३५ वर्षीया खुश्बु नेशा खातुनको घटनास्थलमै मृत्यु भएको बारा प्रहरीले जनाएको छ ।
ना ८ ख ३१२९ नम्बरको ट्रिपरले वीरगन्जबाट कलैया जाँदै गरेको ना १६ प ९७५७ नम्बरको मोटरसाइकलाई दिउँसो पौने १ बजेतिर ठक्कर दिएको हो । ट्रिपरको ठक्करबाट मोटरसाइकल चालक मृतक खातुनका श्रीमान् ४० वर्षीया जाकिर हुसेन गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । घाइते हुसेनको कलैयास्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
नवलपरासीको कावासोतीमा व्यापार गर्दै आएका दम्पति बुधबार परेको इदुल फित्र मनाउन मोटरसाइकलमा घर फर्किँदै गरेका बेला ट्रिपरले ठक्कर दिएको थियो । ट्रिपर र चालक सुरेन्द्र पटेललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।