
धनुषा, २१ जेठ – प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले लोकसेवा आयुक्तलाई फटाहा र बेइमान भएको आरोप लगाएका छन् ।
जनकपुरमा दलित सम्बद्ध संघ संस्थाहरुले मंगलबार आयोजना गरेको प्रदेश स्तरीय दलित अगुवा भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले पैसा कमाउनलाई आयुक्त पदमा बसेको आरोप लगाएका हुन् ।
‘आयोगका आयुक्त फटाहा र बेइमान छन् । पैसा कमाउन पदमा बसेका छन्’, मुख्यमन्त्री राउतले भने, ‘प्रदेश र प्रदेशभित्रको स्थानीय तहमा कर्मचारी पठाउने अधिकार हाम्रो हो । संविधानको धारा २२७ मा यो अधिकार ग्यारेन्टी गरेको छ । तर लोकसेवाका आयुक्त पैसा कमाउन र एउटा जाति र समुदायलाई कर्मचारीमा भर्ती गर्न बसेका छन् ।’
यो लोकसेवा आयोगको ट्रेलर मात्र भएको भन्दै मुख्यमन्त्री राउतले अधिकार प्राप्तिका लागि दलितहरुलाई आफै सशक्त हुनु पर्ने बताए । दलितहरु आफै सशक्त नभएसम्म अधिकार प्राप्त गर्न नसक्ने मुख्यमन्त्री राउतको भनाइ छ ।