सरकारको निर्णय विराटनगरका मेयरले नटेरेपछि…

काठमाण्डु टुडे २०७६ जेठ २१ गते १३:४९ मा प्रकाशित

मोरङ, २१ जेठ – संघीय सरकारलाई चुनौती दिँदै विराटनगर महानगरपालिकाले कोइराला निवासमा नगर रक्षक खटाएको छ ।

गृहमन्त्रीको निर्देशनमा लामो समयदेखि बस्दै आएका सशस्त्र प्रहरी हटेपछि कांग्रेसले सरकारको आलोचना गर्दै आएको थियो । सशस्त्र प्रहरी बललाई त्यहाँबाट हटाएपछि सुरक्षा–कर्मीको ठाउँमा महानगरले नगर रक्षक खटाएको विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले जानकारी दिए ।

मेयर पराजुलीले भने, ‘कोइराला निवास भनेको शेखर कोइरालाको घर मात्र होइन । यो प्रजातन्त्रवादीहरुको घर भएकोले त्यसको सुरक्षा दिनु महानगरको पनि दायित्व रहन्छ । त्यसको सुरक्षाका लागि २ जना नगररक्षक आजैदेखि खटाइएको छ ।’

मेयर पराजुलीले कृष्ण प्साद कोइराला, बीपी कोइराला र गिरिजाप्रसाद कोइरालाजस्ता राजनीतिक व्यक्तित्वको कुञ्जको रुपमा रहेकोले राज्यले यसको संरक्षण गर्नु पर्नेमा संघीय सरकारले सशस्त्र प्रहरीलाई हटाउनु नै दुःखद रहेको बताए ।

‘सुरक्षाकर्मी हटाउनु हुँदैन थियो, संघीय सरकारले हटायो’ा, मेयर पराजुलीले भने, ‘महानगरपालिका पनि स्थानीय सरकार भएकोले महानगरका नगर रक्षक खटाएर आवश्यक व्यवस्थापन गरिएको छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us