प्रहरी चौकी कब्जा गर्न पुगेका विप्लव कार्यकर्ता संखुवासभा भागे

सोलुको नुर्कुममा हतियार देखाउँदै हिँड्छन् विप्लव कार्यकर्ता !

काठमाण्डु टुडे २०७६ जेठ २० गते १६:३० मा प्रकाशित

काठमाण्डु, २० जेठ – सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–३ छेस्कामस्थित प्रहरी चौकी कब्जा गर्न पुगेका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताहरु सोमबार बिहानै भागेको खुलेको छ । गएराति करिब २५–३० जनाको समुहमा पुगेका विप्लवका लडाकु बिहान झिसमिसमै भागेर सोलुखुम्बु छिरेका हुन् ।

मध्यराति १२ बजेको समयमा विप्लवका कार्यकर्ता चौकीमा पुगेका थिए । विप्लवका कार्यकर्ता चौकीतर्फ आउँदै गरेको सूचना पाएपछि ७ जना प्रहरी हतियार सहित सुरक्षित स्थानमा गएका थिए ।

प्रहरी नभेटेपछि उनीहरु बिहान ३ बजेसम्म चौकी आसापासकै क्षेत्रमा बसेका थिए । आज बिहानै काठमाण्डुबाट सशस्त्र प्रहरीको ११ जनाको र नेपाल प्रहरीको २० जनाको विशेष टोली हेलिकप्टरबाट सोलुखुम्बु पुगेर परिचालित भएको छ ।

विराटनगरबाट पनि प्रहरी टोली सोलुखुम्बु पुगेको बताइएको छ । हतियारधारी समूह जंगलमा देखिएको र त्यसतर्फ सुरक्षाकर्मी परिचालन गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाका अध्यक्ष सागर किराँतीले गाउँपालिकाभित्र विप्लव नेकपाका गतिविधि बढेको बताए ।

उनले केहीसमयदेखि सो पार्टीका गतिविधि बढेपछि सशस्त्र र नेपाल प्रहरीले गस्ती समेत बढाएको जानकारी दिए ।

विप्लव समूहबाट भएको चौकी आक्रमण प्रयास र पछिल्लो जानकारीबारे प्रहरीले आधिकारिक जानकारी दिएको छैन । प्रहरी प्रवक्ता विश्वराज पोखरेलले प्रहरी चौकीमा आक्रमण प्रयास नभएको र चौकी पनि नसारिएको बताए ।

सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा डेढ महिनादेखि विप्लव समूहका हतियारधारी कार्यकर्ताले गतिविधि गरिरहेको स्थानीयले बताएका छन् ।

विशेषगरी महाकुलुङ गाउँपालिका–५ नुर्कुममा विप्लव कार्यकर्ता गतिविधि बढेको स्थानीयले बताए । नुर्कुममा प्रहरी चौकी नभएकाले विप्लव कार्यकर्तालाई गतिविधि गर्न सजिलो पनि भएको हो । सो क्षेत्रमा विप्लव कार्यकर्ता हतियारसहित हिँडडुल गर्छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us