सरकारको अधिनायकवादी चरित्र देखियोः शेखर कोइराला

काठमाण्डु टुडे २०७६ जेठ २० गते ११:४६ मा प्रकाशित

काठमाण्डु, २० जेठ – नेपाली काङग्रेसका नेता शेखर कोइरालाले, सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउने गरी विभिन्न कानुन ल्याउन लागेकोप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

सोमबार विज्ञप्ती निकालेर उनले सरोकारवालासँग छलफल नै नगरी सूचना प्रविधि विधेयक, मिडिया काउन्सिल विधेयक र विज्ञापन सम्बन्धि विधेयक सुटुक्क संसदमा पेश गरिनु गम्भीर विषय भएको बताएका हुन् ।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई संकुचित र नियन्त्रित गर्ने प्रावधानहरु सहितका विधेयकहरु संसदमा लानु र पारित गर्न तम्सिनु अहिलेको सरकारको अधिनायकवादी चरित्रको विस्तारित रुप भएको उनले आरोप लगाएका छन् ।

नेता कोइरालाले संसदमा दर्ता भएका सञ्चार क्षेत्रसँग सम्बन्धित विधेयक फिर्ता लिई सरोकारवालासँग पर्याप्त छलफल र सहमतिका आधारमा पुनः प्रस्ताव गर्न सरकारलाई आग्रह गरेका छन् ।

‘सार्वभौम भनिएको संसद कार्यकारीको ल्याप्चेका रुपमा रुपान्तरित नहोस् भन्नेतर्फ सचेत गराउन चाहन्छु,’ नेता कोइरालाले भनेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us