अनुदान दुरुपयोग गर्ने कृषकलाई मन्त्रीको कडा चेतावनी

काठमाण्डु टुडे २०७६ जेठ १९ गते १५:४० मा प्रकाशित

सुर्खेत, १९ जेठ – कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले अनुदानको रकम दुरुपयोग गर्ने कृषकलाई कारवाहीको दायरामा ल्याइने चेतावनी दिएकी छन् ।

सुर्खेतको भेरीगङ्गा नगरपालिका–२ लेखपराजुलका कृषकलाई उन्नत जातका बोका वितरणका क्रममा सो कुरा बताउँदै उनले अनुदान सदुपयोग भए÷नभएको निरन्तर अनुगमन गरिने जानकारी दिइन् । सरकार कृषकका पक्षमा रहेकाले अनुदानको रकम सदुपयोग गरी सरकारलाई सहयोग गर्न आग्रह गर्दै मन्त्री केसीले सहकारी क्षेत्र नै समाजवादको मुख्य आधार भएकाले त्यसमार्फत कृषकलाई प्रवद्र्धन र प्रोत्साहन गर्न सरकार सधैँ तयार रहेको बताइन् ।

कार्यक्रममा चुरे पर्वत साना किसान कृषि सहकारी संस्थाका ८५ सदस्यलाई उन्नत जातको बोका वितरण गरिएको थियोे । भेटनेरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले निर्वाचन क्षेत्र विकास कार्यक्रमबाट प्राप्त रु ५० लाख अनुदान सहयोगबाट बोका खरीदका साथै औषधि र खोर सुधार लगायतमा खर्च गरिएको पशु सेवा विज्ञ केन्द्रका सूचना अधिकारी मोहन गिरीले जानकारी दिए । कृषकलाई गोलाप्रथाका माध्यमबाट बोका छनोट गर्न लगाइएको थियो ।

मन्त्री केसीले आजै वीरेन्द्रनगरस्थित भेटनेरी अस्पतालबाट स्थानीय कृषकलाई ३४ जर्सी गाई प्रदान गरिन । मन्त्रालयको युवालक्षित कार्यक्रमअन्तर्गत कैलालीबाट ती गाई ल्याइएको थियोे । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us