
रुपन्देही, १७ जेठ – नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यले पार्टी एकीकरण पछि प्रधानमन्त्रीमा आलोपालो खोज्नु पुष्पकमल दाहाल प्रचण्डका लागि अमर्यादित र अशोभनीय हुने बताएका छन् ।
क्रान्तिकारी पत्रकार महासंघले शुक्रबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा पार्टी एकीकरण नगरेको भए प्रधानमन्त्रीमा प्रचण्डले पालो खोज्नु मर्यादित हुन्थ्यो तर एकीकरण गरिसकेपछि केका लागि आलोपालो भन्दै महासचिव वैद्यले प्रश्न गरे ।
कम्युनिष्टका नाममा बनेको केपी ओली नेतृत्वको सरकारले कम्युनिष्टहरुकै बदनाम गरिरहेको आरोप उनले लगाए । उनले सरकारले आफ्ना गलत क्रियाकलाप सार्वजनिक हुने डरले मिडिया काउन्सिल विधेयक ल्याएको बताए ।
महासचिव वैद्यले सरकारी प्रभुत्व मिडियामाथि स्थापित गर्दै सरकारले स्वतन्त्र पत्रकारितामाथि प्रहार गर्न खोजिरहेको बताए । वितरणमुखी बजेटले विकास र निकास दुवै दिन नसक्ने भन्दै महासचिव वैद्यले आर्थिक वर्ष २०७६/७७ को बजेटको आलोचना गरे । केही दिन अगाडि अध्यक्ष प्रचण्डले आलोपालो प्रधानमन्त्री हुने बताएका थिए ।