लमजुङमा चट्याङ लागेर एक जनाको मृत्यु

काठमाण्डु टुडे २०७६ जेठ १४ गते १०:३२ मा प्रकाशित

लमजुङ, १४ जेठ – लमजुङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मध्यनेपाल नगरपालिका ३ सूर्यपाल लामाचौर गाउँका १८ वर्षीय सुनील साँखीको सोमबार साँझ ५ बजेतिर परेको चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक साँखी दिउँसो ४ बजेतिर धानको बीउ राख्नका लागि घरबाट करिब पाँच किलोमिटर टाढाको खेतमा गएको र राति अबेरसम्म पनि घर नर्फकिएपछि घरपरिवार, आफन्तजन र स्थानीयवासीले खोजतलास गर्दा सोमबार राति ११ बजे इन्द्रबहादुर थापाको खेतमा मृतावस्थामा भेटिएपछि प्रहरीलाई जानकारी आएको प्रहरीले जनाएको छ ।

खबरलगत्तै भोर्लेटार इलाका प्रहरी कार्यालयबाट प्रहरी घटनास्थल पुगेको थियो । चट्याङ लागेर मृतक साँखीको कपाल, पेट, शरीरमाथिको कपडाको केही भाग डढेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी नायब उपरीक्षक यादव ढकालले बताए ।

शव परीक्षणका लागि छिमेकी जिल्ला तनहुँस्थित दमौली अस्पतालमा लगिएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us