
सिन्धुली, १४ जेठ – २०७२ सालको भूकम्पपछि बन्द भएको तातोपानी नाका मंगलबारदेखि सञ्चालनमा आएको छ । मंगलबार बिहान ४ वटा कन्टेनर ऊन ल्याउन खासा पठाएपछि नाका खुलेको हो ।
ती कन्टेनर बुधबार काठमाण्डु आइपुग्ने जनाइएको छ । सोमबार बेलुका नै ती कन्टेनरको पास प्रक्रिया पूरा गरी मंगलबार बिहानै चिनियाँ पक्षको अनुमतिमा खासाका लागि प्रवेश गराइएको हो ।
गोरखा भूकम्पले नेपाल चीन जोड्ने मितेरी पुल भत्किएपछि तातोपानी नाका बन्द भएको थियो । अहिले पनि मितेरीपुलको निर्माण भइरहेको छ ।
चार वर्षसम्म ओइलाएको तातोपानी नाका अब नयाँ स्वरुपमा स्थापित हुँदैछ । भूकम्पपछि आएको पहिरोले क्षतिग्रस्त बनेको लिपिङ र तातोपानी क्षेत्रका सडक पुनःनिर्माण भइसकेको छ ।
नेपाल सरकारको पटक–पटकको आग्रह पछि चीन रणनीतिक महत्वको नाका खोल्न तयार भएको हो ।