डाक्टर बन्न चाहन्थेः जो आइतबार बम विस्फोटमा बिते

काठमाण्डु टुडे २०७६ जेठ १४ गते ६:४२ मा प्रकाशित

काठमाण्डु, १४ जेठ–आइतबार साँझ ५ बजेतिर सत्य थापा काठमाण्डु मलको क्याफेमा कफी पिइरहेका थिए । मोबाइलमा नेत्रविक्रम चन्द निकट एक व्यक्तिको फोन आयो, ‘प्रज्वल पनि बम विस्फोटमा प-यो जस्तो छ । घाइतेहरुलाई अस्पताल पु-याइएको छ रे । उसलाई ओम अस्पताल लगिएको छ रे । गएर स्थिति बुझिदिनुप-यो ।’ यति भनेर फोन काटियो । लगत्तै सत्यले प्रज्वलको मोबाइलमा फोन गरे । बारम्बार गर्दा पनि नउठेपछि उनी ओम अस्पतालतर्फ दौडिए । ‘ओम अस्पतालदेखि वीर ट्रमा सबैतिर गएँ, कतै भेटिएन उसलाई । टिचिङमा एउटा क्षतविक्षत शव ल्याएको छ भन्ने सुनियो, फेरि उतै दौडिएँ’, उनले सुनाए । त्यो शव प्रज्वलको हो भनेर निश्चित हुन उनले सोमबार बिहानसम्म कुर्नुप-यो । नाकदेखि माथिको भाग नभएको, हातखुट्टा नभएको र घाँटी छिनिन लागेजस्तो अवस्थामा उनले प्रज्वललाई भेटाएका थिए । उनले भने, ‘उसको गोरो अनुहार, जिउडाल र कपडा देखेरै चिनें । अरु हेर्न सकिन ।’

प्रज्वल शाही उनै हुने, जसले आइतबार साँझको बम विस्फोटमा ज्यान गुमाए र सत्य उनका सबैभन्दा नजिकका मित्र हुन् । उनका अनुसार प्रज्वल ५ वर्ष अघिदेखि नेत्रविक्रम चन्द विप्लवसँग नजिक भएर राजनीति गर्थे । उनको फेसबुक वालमा पोस्टिएका फोटो र स्टाटसबाट पनि यो प्रष्टै हुन्छ । बझाङको जयपृथ्वी नगरपालिका–१ का २६ वर्षीय उनी अध्ययनका लागि राजधानी छिरेदेखि नै राजनीतिमा लागेका थिए । डाक्टर बन्ने उद्देश्य लिएर राजधानी छिरेका उनले भर्खैरै ओम समाज कलेज अफ हेल्थ साइन्सबाट एचए सकेका थिए । साथमा भाइबहिनी पनि सँगै राखेर उनी कलंकीमा डेरामा बस्दै आएका थिए । प्रज्वल र सत्य प्रायः सँगै बस्थे, सँगै खन्थे र दुःखसुख बाँड्थे । साथी सम्झँदै सत्य भन्छन्, ‘एकपटक उसको नजिक आएको मान्छे सधैं उसको वरिपरि हुन्थे साह्रै मिजासिलो थियो ।’ कान्तिपुर दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us