
काठमाण्डु, १३ जेठ – सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले हिंसा त्याग्ने संकल्प गरे नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासँग वार्ता गर्न सरकार तयार हुने बताएका छन् ।
सोमबार संघीय संसद भवन परिसरमा संचारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा सरकारका प्रवक्ता समेत रहेका मन्त्री बाँस्कोटाले हिंसा जारी राखे त्यसलाई नियन्त्रण गर्ने दायित्वबाट सरकार पछि नहट्ने पनि स्पष्ट पारे ।
उनले चन्द नेतृत्वको नेकपाको हिंसात्मक गतिविधिमाथि सरकारले प्रतिबन्ध लगाएकाले त्यसलाई फिर्ता लिनै नसक्ने अडान समेत दोहोर्याए ।
मुलुकको शान्ति सुरक्षा कायम गर्न र नागरिक सुरक्षाको प्रत्याभूति गराउने दायित्व भएकाले सरकारले त्यस्ता हिंसात्मक गतिविधिलाई कडाइका साथ नियन्त्रण गर्नुको विकल्प नरहेको मन्त्री बाँस्कोटाको भनाई छ । उनले सरकारले शान्तिपूर्ण राजनीतिमा आउनेलाई सधैं सम्मान गर्ने पनि स्पष्ट पारे ।
शान्तिपूर्ण राजनीति गर्नेमाथि सम्मान गर्ने संवैधानिक व्यवस्था भएकाले सरकार सोही अनुसार अघि बढने पनि मन्त्री बाँस्कोटाले बताए ।
मन्त्री बाँस्कोटाले सरकारको कुनै पनि राजनीतिक शक्तिलाई नियन्यणमा लिने चाहना, उद्देश्य र लक्ष्य नभएको पनि स्पष्ट पारे ।