
काठमाण्डु, १३ जेठ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले राजधानीको बम विस्फोटमा मृत्यु भएका नागरिक सामान्य नागरिक नभएको भन्ने गृहमन्त्री राम बहादुर थापाको भनाई प्रति आपत्ती जनाएका छन् ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा मुलुकको शान्ति सुरक्षा लगायत पछिल्ला घटनाबारे जानकारी गराउने क्रममा गृहमन्त्री राम बहादुर थापाले बम विस्फोटमा मारिनेहरु सामान्य नागरिक नभएको बताएपछि कांग्रेसका सांसदहरुले त्यसप्रति आपत्ती जनाएका हुन् । उनीहरुले घटनामा मारिने ‘कुन देशका नागरिक हुन् ’ भनी गृहमन्त्रीलाई प्रतिप्रश्न गरे ।
सांसद पुष्पा भुसालले शान्ति सुरक्षाको प्रत्याभुति गर्न नसक्ने सरकारले हठ नत्याग्ने र विप्लवले पनि आफ्नो हिंसा नत्याग्ने हो भने त्यसको पीडा सर्वसाधरणले कहिलेसम्म भोग्नुपर्ने भनी प्रश्न गरिन् । उनले सोधिन्, ‘गृहमन्त्रीले राजधानीमा भएको विष्फोटमा परी मृत्यु भएका ४ जना नेपाली जनता होइनन्, नेपाली नागरिक होइनन् भन्नुभयो। उनीहरु नागरिक होइनन् भने को हुन् ?’
सांसद देवेन्द्रराज कँडेलले ‘हिजोको द्धन्द्धकालिन समयमा तात्कालिन सरकारले बोल्ने भाषा नै गृहमन्त्रीले प्रयोग गरेको भन्दै हिजोको सरकारले गरेको काम गलत थियो कि सही’ भनी प्रश्न गरे । उनले प्रश्न गरे, ‘जो मरे पनि के ती नेपाली नागरिक होइनन्? हिजो मरेका पनि नेपाली नागरिक होइनन् ?’
सांसद डाक्टर मिनेन्द्र रिजालले सरकारलाई हठ छोड्न र विप्लवलाई हिंसा छोड्न आग्रह गरे। उनले भने, ‘शसस्त्र द्धन्द्धमा बाँचे सत्तामा पुगिन्छ मरे नागरिकता जान्छ भन्ने गृहमन्त्रीको भनाईबाट समस्या समाधान हुँदैन । गम्भीर बन्नुहोस्। हिजोका आफ्ना दिन सम्झनुहोस् । भोली नेपालीलाई थप दुख नदिनुस्। आग्रह गर्दछु ।’
सांसद राजेन्द्र कुमार केसीले बमविस्फोटसँंगै राजधानीबासीहरु त्रसित भएको भन्दै शान्ति सुरक्षाको प्रत्याभुति कसरी गराउनुहुन्छ भनी प्रश्न गरे । सांसद लक्ष्मी परियारले मृत्यु भएकाहरु नेपाली होइनन् भने को हुन्? भनी प्रश्न गरिन् ।
सांसद पार्व्ति डिसी चौधरीले पनि बम विष्फोटमा परी मृत्यु हुने नेपाली नभए को हुन् भनी प्रश्न गरिन् ।
सांसद उमा रेग्मीले राजधानीको बमकाण्डले सबैलाई तात्कालिन माओवादीको झल्को दिलाएको भन्दै वार्ता मार्फत समस्याको समाधान खोज्न सरकारको ध्यानाकर्षण गराइन् ।
सांसद सुजाता परियारले बम विस्फोटमा मृत्यु भएका नेपाली नागरिक नभए को हुन् भनी गृहमन्त्रीसँग प्रश्न गरिन् । उनले पाँचथर हत्याकाण्डमा संलग्न हत्यारा कहिले पत्ता लगाई कारवाही गर्नुहुन्छ भनी प्रश्न गरिन् ।
सांसद देव प्रकाश तिमिल्सिनाले वार्ता मार्फत समस्या समाधान खोज्न आग्रह गरिन् ।
राजपाका सांसद शरद सिंह भण्डारीले राजनीतिक स्थायीत्व र स्थिरतको जतिसुकै नारा लगाएपनि राजनीतिक समस्या अझै रहेको भन्दै त्यसलाई स्वीकार गर्न सरकारको ध्यानाकर्षण गरे ।
त्यसैगरी, सांसद लक्षमणलाल कर्णले राजधानीको बम विस्फोटको घटनाले समग्र देशबासी नै चिन्तित रहेको भन्दै राजनीतिक रुपले समस्यामा समाधान खोज्न माग गरे । उनले गिरिशचन्द्र लालको प्रतिवेदन प्रकासित किन नगरेको भनी प्रश्न पनि गरे ।