
काठमाण्डु, १३ जेठ– सरकारले आगामी बजेटमार्फत सामाजिक सुरक्षा भत्ता पाँच सय र कर्मचारीको तलब २० प्रतिशत वृद्धि गर्ने भएको छ ।
नेकपाले प्रतिनिधिसभासहित तीनै तहका निर्वाचनमा जनतामाझ लगेको चुनावी घोषणापत्रमा नेकपाले सामाजिक सुरक्षाभत्ता पाँच हजार पु¥याउने भनेको थियो । यो घोषणाले चुनावमा बहुमत ल्याउन नेकपालाई सहयोग पुगेको चर्चा चले पनि गएको वर्षको बजेटमा भत्ता नबढाउँदा सरकारको आलोचना भएको थियो । नेकपाका अध्यक्षद्वयमध्ये पुष्पकमल दाहाल प्रचण्ड भत्ता नबढाएकोमा अर्थमन्त्री युवराज खतिवडाको आलोचना गरेका थिए ।
‘गएको वर्ष सामाजिक सुरक्षाभत्ता नबढाउँदा सर्वत्र आलोचना भएपछि अहिले कम्तीमा पनि पाँच सय रुपैयाँ बढाएर २ हजार ५ सय रुपैयाँ पु¥याउने तयारी गरिएको छ’, अर्थ मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘स्रोतले भ्याए एक हजार रुपैयाँसम्म बढाउन सकिन्छ तर, कम्तिमा पाँच सय रुपैयाँ भने अवश्य बढ्ने छ ।’ ती अधिकारीले १४ गतेसम्म बजेटका स्रोतको हिसाब किताब भइरहने भएकाले पाँच सय रुपैयाँभन्दा बढी पनि भत्ता बढ्न सक्ने जानकारी दिएका छन् । अर्थमन्त्री युवराज खतिवडा भत्ता र तलब दुवै बढाउन सहमत भए पनि श्रोतको उच्च दबाबका कारण कति र कुन विधिबाट बढाउने भन्ने अन्तिम निर्णय भने जेठ १४ अघि मात्र हुने छ । नागरिक दैनिकबाट