
बुटवल, १२ जेठ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव महासचिव विष्णु पौडेलले आफूले नागरिकको विश्वास कहिल्यै नबेच्ने बताएका छन् ।
आइतबार बुटवलमा आयोजित कार्यक्रममा बोल्दै महासचिव पौडेलले विभिन्न ढंगबाट आफूविरूद्ध फैलाइएका हल्लाका पछाडि नलाग्न कार्यकर्तालाई आग्रह गरे ।
‘तपाईंहरूको इमान, जमान र विश्वास बेच्ने मान्छे होइन विष्णु पौडेल,’ उनले बालुवाटार जग्गा प्रकरणमा आफ्नो संलग्नताबारे प्रष्ट पार्दै भने ।
आफू रूपन्देहीका जनताको परीक्षणबाट उत्तीर्ण भएको उल्लेख गर्दै उनले जनताको भावनामा कुठाराघात गर्ने र यहाँका जनताको शिर झुक्ने काम कहिल्यै नगर्ने र अरुलाई पनि गर्न नदिने जिकिर गरे ।
‘विष्णु पौडेल तपाईंहरूको शिर झुक्ने गरी कहिल्यै पनि काम गर्ने छैन, तपाईंहरू बिचलित नहुनुस्,’ उनले कार्यकर्तालाई आश्वासन दिए ।
जनताले दिएको अभिमतको दुरूपयोग गर्ने काममा कहिल्यै नलागेको र अबका दिनमा पनि नलाग्ने उनको दाबी छ।
‘म तपाईंहरूले दिएको अभिमतलाई सम्मान गरेर अगाडि बढ्नेछु, त्यसमा तलमाथि हुने छैन,’ पौडेलले भने।
सत्तारूढ दलका महासचिव तथा पूर्वअर्थमन्त्री पौडेलमाथि भूमाफियासँग मिलेर बालुवाटारस्थित ललिता निवासको विवादित ८ रोपनी जग्गा किनेको आरोप छ।