द्वन्द्वकालीन न्याय सम्पादनको कामलाई सम्पन्न गर्नुपर्छः नेता खनाल

काठमाण्डु टुडे २०७६ जेठ १२ गते १३:२९ मा प्रकाशित

काठमाण्डु, १२ जेठ – सत्तारूढ दल नेपाल कम्युनिस्‍ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले राष्ट्रिय सहमतिका साथ द्वन्द्वकालीन न्याय सम्पादनको कामलाई सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

वरिष्ठ नेता खनालले द्वन्द्वपीडितहरूको सुझावलाई मुख्य आधार बनाएर द्वन्द्वकालीन न्याय सम्पादनको काममा तीव्रता दिन पनि सरकारसँग आग्रह गरे ।

द्वन्द्वपीडित साझा चौतारीले आइतबार काठमाण्डुमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्यनिरूपण तथा मेलमिलाप आयोगको पदाधिकारी छनोट सिफारिश समितिलाई सरकारको प्रभावमा नपरी दुवै समितिको पदाधिकारी सिफारिस गर्न पनि गम्भीर ध्यानाकर्षण गराए ।

सरकारले सर्वोच्च अदालतले विगतमा दिएको फैसला र पीडित पक्षको सुझावलाई ध्यानमा राखेर द्वन्द्वकालीन न्याय सम्पादन गर्न ढिलाई गर्न नहुने वरिष्ठ नेता खनालको भनाइ छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us