अब हामी पनि नरेन्द्र मोदी जस्तै दुई तिहाई ल्याउँछौंः कमल थापा

काठमाण्डु टुडे २०७६ जेठ १२ गते १२:४२ मा प्रकाशित

काठमाण्डु, १२ जेठ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नरेन्द्र मोदीको जस्तै हिन्दुवादीहरुले पनि नेपालमा बहुमत ल्याउने दाबी गरेका छन् । अध्यक्ष थापा अबको निर्वाचनमा नेपालमा पनि भारतमा जस्तै हिन्दुबादीहरुको बहुमत आउनेमा ढुक्क छन् ।

पार्टी केन्द्रीय कार्यालयमा आयोजित सिन्धुपाल्चोक–काठमाण्डु सम्पर्क समाज गठन तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले आगामी निर्वाचनमा राप्रपालाई अग्रणी शक्ति बन्‍नबाट कसैले रोक्न नसक्ने बताएका हुन् ।

‘भारतको निर्वाचनमा हिन्दुत्वको एजेण्डा बोकेको भारतीय जनता पार्टीले छोटो समयमा प्रगति गर्दै प्रचण्ड बहुमतसहित सरकार बनाउन सकेको छ’, थापाले भने, ‘भारतमा हिन्दुवादीहरुले सक्छन् भने हामीले मेहनत गर्दा आगामी निर्वाचनमा राप्रपालाई अग्रणी शक्ति बन्‍नबाट कसैले रोक्न सक्दैन ।’

अध्यक्ष थापाले बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माणका लागि अलमल नगरी राप्रपामा गोलवद्ध आग्रह पनि गरे । कार्यक्रममा सिन्धुपाल्चोकबाट विभिन्‍न दलका कार्यकर्ताहरु राप्रपामा प्रवेश गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us