
काठमाण्डु, १२ जेठ – सामाजिक सञ्जालमा एक आरोही युवकले सगरमाथामा हस्तमैथुन गरेर रेकर्ड राखेको विषय आजभन्दा ११ वर्षभन्दा पहिले नै खिचेको खुलेको छ ।
पर्यटन विभागले सो तस्वीरको आधिकारिकता बुझ्ने क्रममा सन् २००८ मा खिचिएको पाइएको हो । विभागकी निर्देशक मिरा आचार्यले सो तस्वीरलाई अहिले भाइरल बनाउन खोजिएको बताएकी छन् ।
तस्बिर सन् २००८ मा खिचिएको जानकारी पर्यटन विभागले दिएको छ । विभागकी निर्देशक मिरा आचार्यले सन् २००८ मा खिचिएको फोटोलाई यही सिजनको भनेर गलत आशयसहित प्रकाशित गरिएको आपत्ति जनाएकी छन् । उनले सगरमाथालाई लिएर भ्रम छर्ने काम नगर्न पनि अपिल गरेकी छन् ।
पर्यटन विभागले आइतवार एक प्रेस विज्ञप्ति जारी गर्दै पुराना फोटा तथा भिडियोहरु राखेर सगरमाथाको गरिमा घटाउने गतिविधि भएको भन्दै आपत्ति प्रकट गरेको छ । विभागले विज्ञप्ति निकाल्दै भनेका छन्, ‘पुराना फोटा तथा भिडियोहरु राखी सगरमाथाको महत्त्व र गरिमालाई होच्याउने, न्यूनीकरण गर्ने मनासय एवम् दुष्प्रचारप्रति यस विभागको गम्भीर ध्यानकर्षण भएको छ ।’
तीन दिनअघि पाकिस्तानका आरोही करिम शाह निजारीले ट्वीटरमार्फत सो तस्वीर सार्वजनिक गरेका थिए । जुन तस्वीरमा एकजना व्यक्तिले शिखरमा हस्तमैथुन गरेर रेकर्ड राखेको दावी गरिएको छ ।
त्यस्तो अश्लील र आपत्तिजनक हर्कत गर्ने व्यक्तिको नाम हग इ रेक्सहुन भनिएको छ । ३६ वर्षीय ती व्यक्ति भर्जिन आइल्याण्डका नागरिक रहेको र उनले विहान ११ बजेर ११ मिनेटको समयमा १२० जनाको सामुन्नेमा सो हर्कत गरेको भनिएको छ ।