गृहमन्त्रीकाे निर्देशन: ताताेपानीबाट तस्करी हुन नदिनू

काठमाण्डु टुडे २०७६ जेठ १२ गते ११:४० मा प्रकाशित

चौतारा, १२ जेठ – गृहमन्त्री रामबहादुर थापाले नेपाल–चीन सिमानामा पर्ने सिन्धुपाल्चोकको तातोपानीस्थित लार्चामा नवनिर्मित सुक्खा बन्दरगाह र सीमा पुलको निरीक्षण गरेका छन् ।

गृहमन्त्री थापाले बन्द नाका चाँडै खुल्ने बताउँदै यहाँबाट हुने तस्करी तथा कुनै पनि अवाञ्छित गतिविधि हुन नदिन सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिए । गृहमन्त्री थापासँग सांसद अग्नि सापकोटा पनि साथै थिए ।

गोरखा भूकम्पपछि चार वर्षदेखि बन्द रहेको तातोपानी नाका खुलाउन पूर्वाधारको काम तीव्रगतिमा भइरहेको छ । अत्याधुनिक सुक्खा बन्दरगाहको काम सम्पन्न भइसकेको छ भने सीमापुलको काम पनि छिटफुटबाहेक प्रायः सम्पन्न भइसकेको छ ।

अरनिको राजमार्गको बसेरीदेखि सीमापुलसम्म चीन सरकार र त्यहाँदेखियता बाह्रबिसेसम्म सडक डिभिजन कार्यालय दोलखाद्वारा निर्माण भइरहेको इञ्जिनीयर प्रदीप निरौलाले बताए ।

उनका अनुसार बाह्रबिसेको खुर्सानीबारीस्थित साधिखोलामा गत भदौको बाढीले बगाएको पक्कीपुलको ठाउँमा बेलिब्रिज राख्ने काम सम्पन्न भइसकेको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us