नेपालको गणतन्त्र धरापमा !

काठमाण्डु टुडे २०७६ जेठ ११ गते २१:४३ मा प्रकाशित

धरान, ११ जेठ– काँग्रेस नेता महेश आचार्यले प्रधानमन्त्री केपी ओलीका कारण नेपालको बदनाम भएको आरोप लगाएका छन् ।

ओलीले न्यायपालिका, स्वतन्त्र प्रेस तथा मानव अधिकारको क्षेत्राधिकारमा हस्तक्षेप गरेकाले अन्तर्राष्ट्रिय जगतमा नेपालको बेइज्जत गरेको आरोप आचार्यले लगाए । ओलीले प्रमुख प्रतिपक्षी दलका नेतालाई छलेर बोलाइएको संवैधानिक परिषदको बैठकले नेकपा कार्यकर्तालाई न्यायाधीशमा नियुक्ति गरेको टिप्पणी उनको छ ।

‘न्यायालयमा कार्यकर्ता भर्ती, स्वतन्त्र प्रेसको घाँटी निमोठ्ने गरी मिडिया काउन्सिलको विधेयक ल्याउनेदेखि राष्ट्रिय मानवअधिकार आयोगलाई सरकारको शाखाका रुपमा राख्न खोजिएको छ’, कांग्रेसको जागरण अभियानलाई सुनसरीको धरानमा शनिबार सम्बोधन गर्दै आचार्यले भने, ‘प्रधानमन्त्रीका कारण मुलुकको अन्तर्राष्ट्रिय जगतमा बेइज्जत भएको छ ।’ आचार्यले केपी ओलीका कारण ठूलो बलिदानबाट प्राप्त गणतन्त्र धरापमा परेको आरोप पनि लगाए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us