
काठमाण्डु, १० जेठ – भूकम्पले ध्वस्त बनाएको काठमाण्डुको जमलमा रहेको दरबार हाई स्कुलको मुख्य भवनको निर्माण काम सम्पन्न भएको छ ।
चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण गरिएकोे हाई स्कुलको मुख्य भवनको शुक्रबार एक कार्यक्रमकाबीच चीनका लागि नेपाली राजदुत हउ यान्छी र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
भूकम्पले ध्वस्त बनाएको दरबार हाई स्कुलको मुख्य भवन निर्माणको काम १० महिनाभित्रै सम्पन्न गरिएको विद्यालयका प्रधानाध्यापक हेमचन्द्र महतोले जानकारी दिए । ४६ कोठा रहेको चार तले भवनको फिनिसिङको काम भने ४ महिना भित्र सम्पन्न गर्ने लक्ष्य रहेको भवनको निर्माण कार्यमा संलग्न चीनको एससीजी कम्पनीले लिएको छ ।
२० महिना भित्र निर्माण कार्य सम्पन्न गर्ने गरी २०७५ साल श्रावण १८ गतेबाट दरबार हाई स्कुलको निर्माण काम सुरु गरिएका थियो । तर तोकिएको समयभन्दा अघि नै मुख्य भवनको निर्माण काम सम्पन्न भएको पनि विद्यालयका प्रधानाध्यापक महतोले बताए ।
कार्यक्रममा बोल्दै नेपालका लागि चीनका राजदुत यान्छीले चीन सरकारले नेपालको भूकम्पपछिको पुनर्निर्माणको कामलाई उच्च महत्वका साथ अघि बढाएको जानकारी दिइन् । उनले दरबार हाई स्कुलको मुख्य भवनको बाँकि काम पनि छिट्टै सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
२०१० सालमा स्थापना भएको दरबार हाई स्कुल नेपालको पहिलो आधुनिक हाई स्कुल हो । २०७२ साल वैशाख १२ गते आएको विनाशकारी भूकम्पले विद्यालयको भवन ध्वस्त बनाएपछि चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भैरहेकोे हो । आउँदो मंसिर भित्र नयाँ भवनमै पठनपाठन सुरु गर्ने पनि हाई स्कुलका प्रधानाध्यापक महतोले बताए ।