प्रेम सिंह गोलेले यसरी उल्ट्याए पवन चाम्लिङको २५ वर्षे सत्ता

काठमाण्डु टुडे २०७६ जेठ १० गते १०:४६ मा प्रकाशित

काठमाण्डु, १० जेठ – भारतको इतिहासमा सबैभन्दा लामो समय राज गरेका सिक्किमका मूख्यमन्त्री पवन चाम्लिङको सत्ता प्रेम सिंह तामाङ गोलेले उल्टाइदिएका छन् ।

बिहीबार सार्वजनिक भएको मत परिणाममा गोले नेतृत्वको सिक्किम क्रान्तिकारी मोर्चाले ३२ सिट मध्ये १७ सिटमा विजय हासिल गरेपछि चाम्लिङको सत्ता उल्टिएको हो ।

चाम्लिङ नेतृत्वको सिक्किम डेमोक्रेटिक फ्रन्ट १५ सिटमा खुम्चिएको छ । यस नतिजाले सिक्किममा चाम्लिङको २५ वर्ष लामो सत्ताको अन्त्य भएको छ ।

सन् २०१४ मा भएको अघिल्लो विधानसभा चुनावमा गोलेको पार्टी १० सिट जितेको थियो भने चाम्लिङको पार्टीले २२ सिट जितेको थियो ।

यस चुनावमा गोलेले भ्रष्टाचारलाई अन्त्य गर्ने, विकास कामलाई अगाडी बढाउने र युवालाई रोजगारी दिने विषयलाई चुनाबको प्रमुख मुद्दा बनाएका थिए । परिवर्तन र ‘२५ वर्षे राजाको शासनको अन्त्य’ उनको प्रमूख चुनावी नारा थियो ।

‘म तपाईंहरूसँग २५ वर्ष मागिरहेको छैन । मलाई ५ वर्ष दिनोस्, मेरा सबै वाचा पूरा गर्छु’, उनी भन्ने गर्थे ।

बहुमत पाएसँगै गोले नेतृत्वको मोर्चाले अब सिक्किमको नयाँ सरकार बनाउनेछ ।

त्यसैगरी लोकसभाको सिटमा पनि गोलेको पार्टी नै विजयी बएको छ । भारतको लोकसभामा सिक्किम राज्यबाट १ सिट को प्रतिनिधित्व हुने गर्छ । सन् १९९४ देखि चाम्लिङ सिक्किमका मूख्यमन्त्री रहँदै आएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us