
काठमाण्डु, ९ जेठ – सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले मिडिया काउन्सिल विधेयक फिर्ता नगर्ने अडान कसेका छन् ।
बिहीबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बाँस्कोटाले सञ्चारजगतलाई सरकारको भजन गाउनुपर्छ नभनेको पनि प्रष्ट पारेका छन् ।
‘सरकारको भजन गाउनुस भनेको छैन् । सरकारको आलोचना नै होस् । तर पत्रकारिताले मिसन नचलाओस । पत्रकारिताको विश्वव्यापी मान्यताको फलो गरोस भनेका हौँ’ उनले भने, ‘नेपालमा अभिव्यक्ति स्वतन्त्रतासहितको पूर्ण प्रेस स्वतन्त्रता छ । सरकारले प्रेसलाई कम्जोर बनाउने, घाँटी निमोठ्ने र संकुचित गराउने कानुन बनाउन सक्दैन भनेका छौँ, यसमा हामी प्रतिवद्ध छौँ ।’
उनले मिडिया काउन्सिल विधेयकलाई राजनीतिक इस्यू बनाउन खोज्नेसँग सरकार सहमत नरहनेको बताए ।
मन्त्री बाँस्कोटाले मिडिया काउन्सिल विधेयकमा विश्वमा प्रचलित नियम अनुसार नै दण्ड जरिवाना तोकिएको पनि जिकिर गरे । ‘दण्ड जरिवानाले प्रेसको मुख थुन्न सकिन्छ भन्ने पक्षमा सरकार छैन’, उनले भने, ‘फ्रान्स, बेलायतसहितका देशमा पनि करोडौँ जरिवानाको व्यवस्था छ ।’