कहाँ गोली लाग्दा मान्छे मर्छ, थाहा भएनः सञ्चारमन्त्री

काठमाण्डु टुडे २०७६ जेठ ९ गते १६:५४ मा प्रकाशित

काठमाण्डु, ९ जेठ – सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले नेत्रविक्रम चन्द ‘विप्लव’का कार्यकर्ता गोली हानी मारिएको घटनामा ‘कहाँ लाग्दा मर्छ, कहाँ लाग्दा मर्दैन थाहा भएन’ भनेर प्रतिक्रिया दिएका छन् ।

बिहीबार मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै बास्कोटाले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताको सुरक्षाकर्मीसँगको भिडन्तमा मृत्यु भएको विषयमा टिप्पणी गरेका हुन् ।

‘हामीले प्रहरीको रिपोर्टलाई आधिकारिक मान्ने हो,’ बास्कोटाले भने, ‘गोली कहाँ लाग्दा मान्छे मर्छ, कहाँ लाग्दा मर्दैन त्यो थाहा भएन ।’ बास्कोटाले हिंसा आजको आवश्यकता नभएको प्रष्ट पारे ।

भोजपुरमा प्रहरीसँगैको भिडन्तको क्रममा गोली लागेर घाइते भएका ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ता तीर्थराज घिमिरेको उपचारका क्रममा जेठ ८ गते ज्यान गएको थियो । सरकारी पक्षबाट दोहोरो भिडन्त भनिएपनि विप्लवले विज्ञप्ति निकालेर कुनै दोहोरो भिडन्त नभएको जिकिर गरेका छन् ।

आफ्ना कार्यकर्ताको प्रहरीको गोली लागेर मृत्यु भएपछि विप्लवले संघर्षका कार्यक्रम घोषणा गरेका छन् । उनले जेठ १३ गते नेपाल बन्दको घोषणा गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us