प्रश्न सोध्ने पत्रकारलाई मेयरको ‘लोप्पा’ जवाफ !

काठमाण्डु टुडे २०७६ जेठ ९ गते १६:२१ मा प्रकाशित

काठमाण्डु, ९ जेठ – इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरीले पत्रकारमाथि दुव्र्यवहार गरेका छन् । बुधबार आफ्नै कार्यकक्षमै कर्मचारी कुटेको विषयमा जानकारी लिन पुगेका एक जना पत्रकारलाई लोप्पा खुवाएका छन् ।

मेयर चौधरीले महानगरपालिकाका कर्मचारी मनोज दाहाललाई कुटपिट गरेको विषयमा जानकारी लिन पुगेका पत्रकारमाथि मेयरले लोपारेर दुव्र्यवहार गरेका हुन् ।

पत्रकारहरू कृष्णबहाब भट्टराई र विकल रेग्मीलाई नगरपालिका परिसरमै गालीगलौज गर्दै हप्काएका छन् । उनले पत्रकारले प्रश्न सोध्दा उल्टै अभद्र शैलीमा लोपारेका थिए ।

कर्मचारी कुटेको विषयमा प्रतिक्रिया लिन खोज्दा मेयर चौधरीले पत्रकार रेग्मीको कठालो समाते । भने भट्टराइलाई सार्वजनिक स्थलमा अभद्र शैलीमा हप्काउँदै लाेप्पा खुवाएका छन् ।

र याे पनि: इटहरीका मेयरले सीसी क्यामेरा बन्द गरेर कर्मचारी कुटेपछि…

कर्मचारी कुटपिटका विषयमा प्रतिक्रिया लिन पुगेका दुबै पत्रकारमाथि मेयरले गरेको व्यवहारको विरोध गर्दै पत्रकार महासङ्घ सुनसरीले विज्ञप्ति जारी गर्दै भर्त्सना गरेको छ ।

यस्तो छ मेयर र पत्रकारको संवादः

पत्रकारः तपाईंले सिसी क्यामरा अफ गरेर, ढोका लगाएर मनोज दाहाललाई हानेको हो ? यसरी कानून हातमा लिन मिल्छ ?

मेयरः यस्ता फोकटिया कुरा नगर्नुस् । अब सुन्नुस । म कानूनको विद्यार्थी त होइन, तर संकटका बेलामा राज्यले मौलिक हक के गर्छ भन्छन् नि ? के गर्छ रे ? त्यसलाई के भन्छन् ? बन्दी प्रत्यक्षीकरण बाहेक, सभा–जुलुस सबै ऊ हुँदोरहेछ । अनि आवधिक निर्वाचन टरेर जान्छ संकटका बेला । त्यसैले शासकले कानून हातमा लिन्छ । लिन्छ शासकले ।

पत्रकारः तर यो तपाईंको अधिकार क्षेत्र होइन नि ?

मेयरः मेरो होइन भने कसको हो ?

पत्रकार? संसदको हो नि

मेयरः को संसद ?

पत्रकारः प्रतिनिधिसभा छ, राष्ट्रिय सभा छ ।

मेयरः यहाँ छ प्रतिनिधिसभा ? राष्ट्रिय सभा ?

पत्रकारः तपाईंको भन्दा दुई किलोमिटर अगाडि अख्तियार छ ।

मेयरः जानु नि त अख्तियार, के–के गर्नुपर्छ गर्नु नि ।

पत्रकारः हातपातको कुरा चाहिँ के हो ?

मेयरः देखाउनु न त प्रमाण । यस्ता फोकटिया कुरा नगर्नुस् ।

अर्का पत्रकारमाथि मेयरको आक्रोशः ए भाइ, पत्रकार हौ ? कति वर्ष पुग्यौ ?

पत्रकारः २० वर्ष पुगें

मेयरः मेरो कान्छो छोरा २४ वर्षको भयो । राम्रो प्रश्न गर । तिमीले मलाई लोकतन्त्र, मौलिक हक, मानवअधिकार, राजनीतिकशास्त्र ऐन–कानून पढाउनुपर्दैन । सात वर्ष मुद्दा गरेको मोही किसानको छोरा हुँ । तिम्रो प्रश्नको जवाफ दिन चाहन्न । आई डन्ट लाइक टु आन्सर योर क्वैस्चन । यू आर बायस्ड ।

पत्रकारः खरिद नियम विपरीत हुँदाहुँदै पनि मेयर भवनको भुक्तानी दिने कार्यपालिकाले निर्णय किन गर्‍यो ?

मेयरः कार्यपालिकाले गरेको छैन । देखायौ भने आजदेखि राजनीतिबाट सन्यास लिन्छु ।

मेयरले पत्रकारको अनुहारमा हात पुर्‍याएर भन्छन्, ‘लोपारिदिन्छु म तिमीलाई । त्यस्ता कुरा नगर । लोपारिदिन्छु । लोपारिनै दिन्छु यस्तो बायस कुरा गरेऊ भने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us