
काठमाण्डु, ९ जेठ – भारतमा बिहीबार लोकसभा निर्वाचनको मत परिणाम सार्वजनिक हुँदैछ । हाल मतगणना जारी छ ।
मगतणना भइरहँदा केही स्थानमा मत परिणाम सार्वजनिक भएका छन् । विपक्षी दल काँग्रेसका अध्यक्ष राहुल गान्धी केरलास्थित वायनाडमा विजयी भएका छन् ।
राहुल गान्धीले आफ्ना निकटतम प्रतिद्वन्दीलाई ३ लाखभन्दा बढीको मत अन्तरले पराजित गरेको इकोनोमिक टाइम्सले जनाइएको छ ।
गान्धीले ५ लाख २१ हजार ५९८ मत प्राप्त गर्दा कम्युनिस्ट पार्टी अफ इन्डियाका पीपी सुनिरले १ लाख ९५ हजार ५१५ मत प्राप्त गरेको जनाइएको छ ।
यद्यपी गान्धी उत्तर प्रदेशस्थित अमेठीमा पछाडि परेका छन् । बिजेपीका उमेद्वार स्मृति इरानीले हालसम्म १ लाख ४४ हजार ४९८ मत प्राप्तगर्दा राहुल गान्धीले ९४ हजार ७३२ मत ल्याएका छन् ।
यसपटकको निर्वाचनमा समेत प्रधानमन्त्री नरेन्द्र मोदीको दल भारतीय जनता पार्टीले बहुमत ल्याउने प्रारम्भिक मतगणनाले देखाइसकेको छ ।
मतगणना अनुसार अहिलेसम्म मोदीको दलले ३४४ स्थानमा विजय हात पारेको छ । एप्रिल ११ देखि मे १९ सम्म लोकसभाको कुल ५४२ स्थानका लागि सात चरणमा चुनाव भएको थियो ।
मोदीको दल भाजपाले ३४४, कांग्रेस आईले ८८ र अन्य गठबन्धनले ११० स्थानमा अग्रता हात पारेका छन् । सन् २०१४ को चुनावमा मोदीको दल भाजपाले २८२ सिट जितेको थियो ।