
भारत, ९ जेठ – भारतको लोकसभा निर्वाचनको मतगणना बिहीबार बिहानबाट सुरु भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा चुनावमा होमिएको भारतीय जनता पार्टी (भाजपा)ले अहिलेसम्म बहुमत सिटमा अग्रता लिएको छ ।
वाराणासीको बहुचर्चित चुनाव क्षेत्रमा मोदीले पनि आफ्नो अग्रता बढाउँदै लगेका छन् । उनले २ लाख मतको अग्रता लिएको भारतको निर्वाचन आयोगले जनाएको छ । उनलाई समाजवादी पार्टी शालिनी यादवले पछ्याइरहेकी छन् ।
यो मत परिणामसँगै मोदीको नेतृत्वमा रहेको एनडीएले दोस्रोपटक कार्यकाल चलाउने लक्षण देखाएको छ । अग्रस्थानमा रहेको आधारमा भाजपा नेतृत्वको गठबन्धनले स्पष्ट जीत हासिल गर्ने देखिएको छ ।
पछिल्लो रुझानमा एनडीएले ३२० भन्दा बढी सीटमा अग्रता लिइरहेको देखिन्छ भने भाजपा २९२ सीटमा अघि देखिन्छ । योसँगै प्रधानमन्त्री बनेका नरेन्द्र मोदी फेरि पनि प्रधानमन्त्री बन्ने भएका छन् । भारतमा सरकार बनाउन २७२ सिट चाहिन्छ ।
अहिलेको ट्रेन्ड हेर्दा मोदीकै पक्षमा लहर देखिएको छ । मतगणना शुरू भएको जम्मा एक घन्टामा भाजपाले रुझानमा २०० सीट कटाइसकेको थियो ।
भाजपाले हिन्दी केन्द्रभूमि अर्थात् उत्तर प्रदेश, बिहार र राजस्थानमा राम्रो प्रदर्शन गरेको देखिएको छ । उसले पूर्व र पश्चिमका राज्यमा पनि राम्रो प्रदर्शन गरेको देखिन्छ ।
भाजपाले गुजरात, राजस्थान, मध्य प्रदेश, दिल्ली र हरियाणामा प्रभुत्व जमाएको देखिन्छ । उसले पहाडी जिल्लाहरूमा पनि राम्रो प्रदर्शन गरिरहेको छ । अनि कर्नाटक, झारखण्ड र महाराष्ट्रमा पनि उसको प्रदर्शन भव्य छ ।
राहुल गान्धीको नेतृत्वमा रहेको कांग्रेस पार्टीले निकै कमजोर प्रदर्शन गरेको छ । ऊ राजस्थान र मध्य प्रदेशमा संघर्षरत छ जबकि चार महिनाअघि मात्र भएको विधानसभा चुनावमा कांग्रेस विजयी भएको थियो ।
कांग्रेसका लागि पञ्जाब र केरलाले मात्र राहत दिएको छ । केरलामा कांग्रेस नेतृत्वको यूडीएफले थुप्रो सीट ल्याउने देखिएको छ । त्यसै राज्यको वायानाडमा राहुल गान्धी उम्मेदवार बनेकाले पार्टीले राम्रो प्रदर्शन गर्ने अपेक्षा थियो ।
भाजपाविरोधी खेमाका लागि सबभन्दा निराशाजनक प्रदर्शन उत्तर प्रदेशमा रह्यो । त्यहाँ सपा, बसपा र आरएलडीले महागठबन्धनले भाजपालाई कडा टक्कर दिने अपेक्षा गरिएको थियो । उत्तर प्रदेश कब्जा गर्ने दलले देश चलाउँछ भन्ने मान्यता भारतीय राजनीतिमा छ । यूपीमा भाजपाले यसपालि पनि भारी बहुमत ल्याउने लक्षण देखिएको छ ।