
विराटनगर, ८ जेठ – पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेमा भएको विभत्स हत्या काण्डबाट भागेर ज्यान जोगाएकी १२ वर्षीया बालिकाको उपचार प्रदेश १ को सरकारले गर्ने भएको छ ।
दुई परिवारका नौजनाको हत्या भएको घटनामा भागेर बाँचे पनि घाइते अवस्थामा रहेकी सीता खजुमको सबै उपचार खर्च सरकारले बेहोर्ने प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले जानकारी दिए ।
मन्त्री कार्कीले जारी गरेको विज्ञप्तिमा क्रुर र बर्बरतापूर्वक घटनामा घाइते भएकी बालिकाको उपचारमा कुनै कमी हुन नदिने र सबै खर्च सरकारले बेहोर्ने उल्लेख छ । अपराधिक, अमानवीय तथा निन्दनीय हत्याले सबैलाई स्तब्ध बनाएको विज्ञप्तिमा उल्लेख छ ।
घटनामा संलग्न जो कोही अपराधीलाई कानुनको दायरामा ल्याएर कारवाही गर्ने प्रतिवद्धता पनि प्रदेश सरकारले गरेको छ । घटनाको प्रभावकारी अनुसन्धानका लागि प्रहरीलाई आवश्यक निर्देशन दिँदै विशेष प्रहरी टोली घटनास्थलमा परिचालन गरिएको विज्ञप्तिमा जनाइएको छ ।
सोमबार राति बमबहादुर फियाक र धनराज शेर्माको परिवारका ९ जनाको हत्या गरिएको थियो। धनराज बमबहादुरका ज्वाइँ हुन् । उनीहरुको घर पैदल १५ मिनेटको दूरीमा छ ।
बमबहादुरसहित श्रीमती फुर्चीमाया फियाक, कान्छी छोरी मनकुमारी फियाक र नातिनी आसिका खजुमको हत्या भएको थियो। धनराजसहित श्रीमती जस्मिता फियाक (शेर्मा), छोरीहरु युहाना शेर्मा, मुना शेर्मा तथा भतिजी इक्सा शेर्माको हत्या भएको थियो ।
बमबहादुरकै नातिनी १२ वर्षीया सीताले भने भागेर ज्यान बचाएकी थिइन् । उनले ज्यान बचाउन भाग्ने क्रममा ठोक्किएर दाहिने हात भाँचिएको बताएकी छन् ।
उनको झापाको दमकमा उपचार भइरहेको छ । नकाब लगाएर आएका व्यक्तिले एकाएक खुकुरी प्रहार गर्न थालेपछि आफू भने भागेर बाँचेको उनले बताएकी छन् ।