टिकटक सेलिब्रिटीको गोली हानी हत्या

काठमाण्डु टुडे २०७६ जेठ ८ गते १२:२० मा प्रकाशित

एजेन्सी । मोबाइल भिडियो एप टिकटकमा सेलिब्रिटी बनिसकेका एक जिम ट्रेनरको दिल्ली नजफगढ इलाकामा गोली हानी हत्या गरिएको छ ।

मंगलबार बिहान सवा पाँच बजे हत्या गरिएका मृतकको नाम मोहित मोर भएको बताइएको छ । घटनाका बेला उनी आफ्ना एक साथीलाई भेट्न एउटा पसलमा गएका थिए ।

एक प्रहरी अधिकारीले भने, ‘मोहित जब आफ्ना साथीसँग कुरा गरिरहेका थिए तब तीन बन्दुकधारी पसलमा छिरेर १३ पटक गोली हाने । मोहित पसलकै एक सोफामा ढले । उनलाई नजिकैको अस्पताल पुर्याइयो जहाँ डाक्टरले उनलाई मृत घोषणा गरे । उनलाई सातवटा गोली लागेको थियो ।’

प्रहरीका अनुसार घटनामा संलग्न तीन हमलाकर्ताले कालो रङको हेलमेल लगाएका थिए । उनीहरु एउटा स्कुटीमा आएका थिए । सिसिटिभी फुटेजमा उनीहरु एउटा गल्लीबाट भागेको देखिएका छन् ।

मोहितको टिकटक र इन्स्टाग्राम अकाउन्टका साथै उनको कल डिटेल्सको पनि अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । यसमार्फत सोसल मिडियामा उनको कसैसँग दुश्मनी त थिएन भनेर जान्ने कोसिस गरिँदै छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us