
काठमाण्डु, ८ जेठ – नेपाल कम्युनिष्ट पार्टीका एक जना सांसदले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गठन गरेको छाया सरकारका मन्त्रीलाई शुभकामना दिएका छन् । नेकपा सांसद महेश बस्नेतले कांग्रेसको छाया सरकारमाथि व्यंग्य हान्दै शुभकामना दिएका हुन् ।
प्रतिनिधि सभाको बुधवारको बैठकको शून्य समयमा बस्नेतले कांग्रेसका छाया सरकारका मन्त्रीको कार्यकाल २०–३० औं वर्ष चलोस् भनेर कटाक्ष गरे । उनले आफ्ना मन्त्रीलाई संसदीय मूल्य मान्यता सिकाउन पनि कांग्रेसलाई सुझाव दिए ।
उनले कांग्रेसले सरकारसँग संवाद र सहकार्य गर्नका लागि नै छाया सरकार गठन गरेको होला भन्ने आफूलाई लागेको बताए ।
‘संवाद र सहकार्यको लागि गठन गरेको होला । संवाद र सहकार्य अगाडि बढाओस् । रचनात्मक प्रतिपक्ष भूमिका र आलोचनात्मक समर्थन गरेर अगाडि बढोस्’, सांसद बस्नेतले भने, ‘४८ सदस्यीय मन्त्रिमण्डल गठन भएको रहेछ । कार्यकाल २०/३० वर्ष रहोस्, शुभकामना !’