
काठमाण्डु, ८ जेठ – सरकारले पहिलो र दोस्रो संविधान सभाका सांसदहरुलाई संविधानसभा पदकबाट विभूषित गर्ने भएको छ ।
गृहमन्त्रालयले बुधबार जारी गरिएको सूचनामा यही जेठ १६ गते राष्ट्रपति कार्यालयमा हुने कार्यक्रममा जानका लागि प्रवेशपत्र लिन यही जेठ ९ देखि १४ गते सम्ममा गृहमन्त्रालयबाट प्रवेश पत्र लिन भनिएको छ ।
नेपालमा दुईपटक संविधानसभाको निर्वाचन भएको थियो । गृहमन्त्रालयले आज गोरखापत्रले छापेको सूचनामा भनिएको छ, ‘विभूषण सुशोभन समारोहमा उपस्थितिका लागि अत्यन्त जरुरी सूचना । सम्माननीय राष्ट्रपतिज्यूबाट गणतन्त्र दिवस २०७६को अवसरमा नेपालको संविधान निर्माणमा योगदान पुर्याउनु हुने पहिलो संविधान सभा, २०६४ तथा दोस्रो संविधान सभा, २०७०का माननीय सदस्यहरुलाई संविधानसभा पदकबाट विभूषित गरिने हुँदा संविधान सभाका सबै माननीय सदस्यहरुलाई २०७६ साल जेठ १६ गते विहीबार प्रवेशपत्रमा तोकिएको समय भित्र राष्ट्रपतिको कार्यालयमा उपस्थित हुनका लागि २०७६ साल जेठ ९ देखि १४ गते सम्म गृह मन्त्रालय, विभूषण शाखामा आआफ्नो परिचय सहित सम्पर्क गरी सुशोभन समारोह प्रवेशपत्र लिन हुन सम्बन्धित सबैलाई अनुरोध गरिन्छ । सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुले यसै सूचनालाई आधार मानी आआफ्नो जिल्लाका संविधानसभा पदक प्राप्त गर्ने माननीय सदस्यहरुलाई विभूषण सुशोभन समारोहमा देहायमा उल्लेखित ३ नम्बर पोशाक सहित उपस्थितिका लागि जानकारी गराइदिन हुन सूचित गरिन्छ । घोषित नामावली सहितको सूची गृह मन्त्रालयको वेव साइट डब्लयु डब्ल्यु डब्ल्यु डट मोहा डट जीओभी डट एनपीमा समेत हेर्न सकिनेछ । राष्ट्रपतिको कार्यालय, शीतल निवास महाराजगञ्जमा आयोजना गरिने सुशोभन समारोहमा प्रवेशपत्रका आधारमा मात्र प्रवेश गराइने व्यहोरा जानकारी गराइन्छ । अन्य जानकारीका लागि गृह मन्त्रालयका देहायका टेलिफोन नम्बर वा सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा सम्पर्न राख्नु हुन अनुरोध गरिन्छ ।’