
काठमाण्डु, ६ जेठ – महानगरीय अपराध महाशाखाले आठ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । गैरकानुनी रुपमा नेटवर्किङ व्यावसाय सञ्चालन गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा भारत उतरप्रदेशका महोमद जिया, नितिन श्रीबास्तव, महोमद सेयाफ, तेज नारायण शुक्ला, कानपुरका रबि तिवारी, भारत प्रयागराजका अटल त्रिपाठी, राजेश कुमार शुक्ला र कुशिनगरका नुलएन वारसी रहेका छन् ।
महाशाखाको टोलीले काठमाण्डुको बबरमहलबाट छ जना र ठमेलस्थित होटल बैशालीबाट थप दुई जनालाई पक्राउ गरेको हो । बबरमहलबाट पक्राउ परेका ६ भारतीयको साथबाट आठ लाख ५० हजार र ठमेलबाट पक्राउ परेका दुई जनाबाट ३३ लाख ५० हजार बरामद गरिएको महाशाखाका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सहकुल थापाले जानकारी दिए ।
गतसाता मात्रै परिसर काठमाण्डुको टोलीले होटल याक एण्ड यतीबाट अवैध नेटवर्किङको धन्दा गर्ने १२ भारतीयलाई पक्राउ गरेको थियो । यसअघि पक्राउ परेका १२ जना र आइतबार साँझ पक्राउ परेका आठ जनाबिच सम्बन्ध रहेको हुनसक्ने महाशाखाले जनाएको छ ।