अष्ट्रेलियाको विश्वविद्यालयमा घले दम्पतीका नाममा छात्रवृत्ति

काठमाण्डु टुडे २०७६ जेठ ६ गते १४:४६ मा प्रकाशित

अष्ट्रेलिया, ६ जेठ – गैर आवासीय नेपाली संघ (एनआरएन)का पूर्व अध्यक्ष शेष घले र उनकी श्रीमती जमुना गुरुङको नाममा अस्ट्रेलियाको एक विश्वविद्यालयमा स्थापना गरिएको छात्रवृत्ति वितरण गरिएको छ ।

अस्ट्रेलियाको फेडेरेसन युनिभर्सिटी अन्तर्गतका कलेजमा पढ्ने तीन महिला विद्यार्थीलाई घले दम्पतीको नामको स्थापित एसजी एन्ड जेजी छात्रवृत्ति प्रदान गरिएको हो ।

छात्रवृत्ति कार्यक्रम अन्तर्गत नेपालीसहित ३ विद्यार्थीलाई जनही ७ हजार अस्ट्रेलियन डलरको प्रदान गरिएको हो ।

छात्रवृत्ति पाउनेमा एमआईटी कलेज अन्तर्गत सिड्नी क्याम्पसमा अध्यनरत नेपालकी शर्मिला खनाल, एमआईटी मेलबर्न क्याम्पसमा अध्ययनरत भारतीय विद्यार्थी कविता शर्मा र फेडरेसन युनिभर्सिटीमा अध्ययनरत अस्ट्रेलियाकै केला थोनीक्रफ्ट रहेका छन् ।

घले दम्पत्तिले फेडेरेसन युनिभर्सिटीलाई दुई वर्ष अगाडि २ लाख अस्ट्रेलियन डलर अनुदान प्रदान गरेका थिए। केही समय अगाडि युनिभर्सिटीले छात्रवृत्ति स्थापनाका लागि गरेको प्रस्ताव स्वीकार्दै घले दम्पतीले सो छात्रावृत्ति स्थापना गरेका हुन् । यो छात्रवृत्ति छात्राहरुका लागि मात्रै प्रदान गरिने छ ।

पूर्वअध्यक्ष घलेले सोमबार सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट गर्दै पुरस्कृत हुने छात्राहरुलाई बधाई समेत दिएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us