सरकारले पार्टीभित्र छलफल नै नगरी मिडिया काउन्सिल विधेयक ल्यायोः माधव नेपाल

काठमाण्डु टुडे २०७६ जेठ ६ गते १२:४१ मा प्रकाशित

दाङ, ६ जेठ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले मिडिया काउन्सिल विधेयक पार्टीमा छलफल नगरी ल्याइएको खुलासा गरेका छन् ।

‘महत्वपूर्ण निर्णयहरू गर्दा पार्टीमा छलफल हुनुपर्छ, तर, अहिले कुनै पनि विषयमा निर्णय लिँदा पार्टीमा छलफल गर्ने गरिएको छैन’, दाङको घोराहीमा सोमबार आयोजित पत्रकार सम्मेलनमा नेपालले भने,‘पार्टीमा छलफल गर्ने चलन नै नहुनु दुःखद पक्ष हो ।’

वरिष्ठ नेता नेपालले पार्टीमा छलफल गर्ने वातावरण नहुँदा धेरै विरोध खेप्नु परेको बताए । उनले हाल उत्पन्न समस्या र सरकारको कामको समिक्षाको बारेमा समेत पार्टीभित्र कुनै छलफल नभएको उनले स्पष्ट पारे ।

बैठकबाट यस्ता कुराहरू आउँदा पर्दाखेरी सरकार एक्लो नहुने बताएका उनले आफूहरूसँग परामर्श तथा छलफल नै नगरी ल्याउन लागेको विधेयकका बारेमा के भन्ने कुरा अन्यौलता छाएको बताए ।

त्यस्तै, उनले मिडियाका मानिसहरू समेत आएर आफूलाई केही नभएको हुँदा त्यसबारे कुनै जानकारी नभएको उनले जनाए ।

सरकारले महत्वपूर्ण निर्णय गर्दा पार्टीमा छलफल गर्न पटक–पटक कुरा उठाए पनि त्यसलाई बेवास्ता गर्ने गरिएको भन्दै उनले असुन्तुष्टि पोखे ।

मिडिया काउन्सिल विधेयकको समर्थन वा विरोधका बारे भने उनले केही बोलेनन् ।

नेता नेपालले समाचारमा विश्वसनियता सुनिश्चित हुनुपर्ने धारणा राखे । पछिल्लो समय पहिलो हुने नाममा समाचार सत्य र तथ्यमा भन्दा पनि अनुमानको भरमा लेखिने हुँदा पत्रकारिताप्रति आम मानिसको विश्वसनियता कम हुँदै गएको उनको भनाइ थियो ।

‘मनपरी गर्ने छुट त कसैलाई पनि दिनु हुन्न,’ नेपालले भने ‘अलिकति मिडियालाई अनुशासित भने बनाउन आवश्यक छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us