
ब्राजिल, ६ जेठ – ब्राजिलको उत्तरी प्रान्त पारामा आइतबार अपराह्न एक समूहले गोली चलाउँदा कम्तीमा ११ जनाको ज्यान गएको छ । स्थानीय प्रहरीका अनुसार उक्त गोलीकाण्डमा अरु एक जना गम्भीर घाइते भएका छन् ।
स्थानीय समय अनुसार अपराह्न ४ बजे सात जना बन्दुकधारी बेलेम शहरको गुआमामा रहेको एक बारमा प्रवेश गरी गोली चलाएका थिए ।
हत्या भएकाहरुमा छ जना महिला र पाँच पुरुष छन् । प्रहरीले एक जना शंकास्पद बन्दुकधारीलाई पक्राउ गरेको छ । गोली चलाउने अरुहरु भने फरार छन् ।
घाइतेलाई प्रहरीले उद्धार गरी अस्पताल भर्ना गरेको छ । गोली चलाउनुको कारण भने अझै खुलेको छैन । प्रहरीले उक्त घटनाको छानबिन थालेको जनाएको छ । रासस