बंगलादेशबाट नेपालले शिक्षा लिनुपर्छः राजदूत आम्स

काठमाण्डु टुडे २०७६ जेठ ५ गते १०:२७ मा प्रकाशित

विराटनगर, ५ जेठ – नेपालका लागि बंगलादेशका राजदूत फास्फी विन्ते आम्सले आफ्नो देशको आर्थिक वृद्धिबाट नेपालले शिक्षा लिनुपर्ने बताएका छन् ।

एभरेस्ट एजुकेसन फाउन्डेसन प्रालि विराटनगरले बंगलादेशका कम्पनीबाट उत्पादित स्टिल स्ट्रक्चर प्रविधिबाट बनाउँदै गरेको भवनको शनिबार अवलोकन गर्दै राजदूत आम्सले पछिल्लो समयमा बंगलादेशले आर्थिक वृद्धिदर र विकासमा उत्कृष्ट कार्य गरेको जानकारी दिए ।

उनले प्रदेश १ र बंगलादेश एकअर्काबीच पुलको रुपमा रहनसक्ने बताउँदै यसबाट यस क्षेत्रमा फाइदा लिन सकिने बताए । एभरेस्ट स्कूलले उच्च शिक्षा सञ्चालनका लागि २४ हजार स्क्वायर फिटमा नयाँ प्रविधियुक्त भवन बनाउन लागिपरेको फाउन्डेसनका अध्यक्ष विनोद ढकालले जानकारी दिए ।

उक्त विद्यालयले आगामी तीन महीनाभित्र ४२ कोठे भवन निर्माण गर्ने लक्ष्य राखेको छ । कम खर्चमै भूकम्पप्रतिरोधी र छोटो समयमा निर्माण गर्न सकिने विद्यालय भवन निर्माण गरिरहेको हिमालय प्रिफेव प्रालिका कार्यकारी निर्देशक नीलमणि सापकोटाले बताए ।

बंगलादेशको म्याक डोनाल्ड स्टिल लिमिटेडका साइद अहमदले जापानको निप्पोन स्टिलबाट उत्पादित कच्चा पदार्थ प्रयोग गरी आधुनिक उपकरण प्रयोगबाट विद्यालय निर्माण गरिने बताए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us