अमेरिका–चीन व्यापार द्वन्द्व चर्कियो, ट्रम्पले चाले यस्तो कदम

काठमाण्डु टुडे २०७६ जेठ २ गते १०:०२ मा प्रकाशित

अमेरिका, २ जेठ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सूचना प्रविधिमाथि खतरा बढेको भन्दै अमेरिकी कम्पनीहरूलाई विदेशी दूरसञ्चार उपकरण प्रयोगमा रोक लगाएका छन् ।

दूरसञ्चार उपकरणहरूको प्रयोगका कारण राष्ट्रिय सुरक्षामा जोखिम उत्पन्न भएको र साइबर आक्रमणको खतरा बढेको भन्दै त्यस्ता उपकरणको प्रयोगमा रोक लगाउँदै ट्रम्पले संकटकाल घोषणा गरेका हुन् ।

सञ्चार सञ्जालहरूलाई विदेशी प्रतिद्वन्द्वबाट बचाउन संकटकाल लगाएको ट्रम्पले उल्लेख गरेका छन् । ट्रम्पको निर्णयपछि अब अमेरिकी कम्पनीहरूले विदेशी दूरसञ्चार कम्पनीका उत्पादन खरिद गर्न पाउने छैनन् ।

ट्रम्पको यो निर्णय खासगरी चिनियाँ उत्पादनलाई लक्षित गरी आएको विश्लेषण गरिएको छ । चिनियाँ कम्पनी हुवावेले आफ्ना उपकरणहरूको सहयोगले अरू राष्ट्रहरूमा जासुसी गरिरहेको अमेरिकाले आरोप लगाउँदै आएको छ । यद्यपि हुवावेले भने आफ्ना उपकरणहरू सुरक्षित रहेको बताउँदै अमेरिकी आरोप अस्वीकार गर्दै आएको छ ।

अमेरिका र चीनबीच व्यापार युद्ध चर्किँदै गर्दा ट्रम्पको यो निर्णयले दुई देशको सम्बन्धमा थप समस्या उत्पन्न हुनसक्ने अनुमान गरिएको छ । गत साता मात्रै ट्रम्पले २०० खर्ब डलर बराबरको चिनियाँ सामाग्रीमा लगाइएको १० प्रतिशत करलाई २५ प्रतिशत पुर्‍याएका थिए । जवाफमा चीनले ६० अर्ब डलर बराबरको अमेरिकी सामाग्रीमा कर वृद्धि गरेको थियो ।

कर वृद्धिका कारण धरासायी बनेको अमेरिका चीन व्यापार विदेशी उपकरण आयातमै रोक लगाएपछि चिनियाँ उपकरणमा निर्भर अमेरिकी कम्पनीहरूलाई ठूलै घाटा हुने बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us