भारत हुँदै तेस्रो मुलुक जाने नेपालीका लागि आयो नयाँ नियम

काठमाण्डु टुडे २०७६ वैशाख ३१ गते १६:०० मा प्रकाशित

काठमाण्डु, ३१ वैशाख – भारत हुँदै तेस्रो मुलुक जाने नेपालीहरुले भारतीय अध्यागमन पार गर्दा दूतावासको नो अब्जेक्सन लेटर (एनओसी) देखाउनुपर्ने अनिवार्य व्यवस्था लागु भएको छ ।

नयाँ दिल्लीस्थित नेपाली दूतावासले भारत हुँदै तेस्रो मुलुकको यात्रा गर्ने नेपाली नागरिकहरुलाई एनओसी बनाउन भन्दै आज सूचना प्रकाशित गरेको छ ।

यसरी दूतावासबाट एनओसी बनाउनका लागि तेस्रो मुलुक जानुपर्ने मनासिव कारणसहित निवेदन दिनुपर्ने छ । साथै यात्रा गर्ने व्यक्तिको राहदानी र सोको प्रतिलिपि, यात्रा गर्ने देशको भिसा र हवाइ टिकटको प्रतिलिपि पनि दूतासावसमा बुझाउनुपर्ने छ ।

रोजगार भिसामा विदेश जाने व्यक्तिले वैदेशिक रोजगार विभागबाट जारी भएको श्रम स्विकृतिको प्रतिलिपि पनि दिनुपर्ने सूचनामा उल्लेख छ । त्यस्तै यसअघि भारतबाहेकका तेस्रो मुलुकहरुको भ्रमण गरेको भए यात्रा अभिलेखको प्रतिलिपि बुझाउनुपर्ने छ ।

हाल भारतमा अध्ययन तथा व्यवसायी गरिरहेका नेपालीको हकमा भने अध्ययन वा व्यवसायसँग सम्बन्धित परिचयपत्र वा कागजपत्र देखाउनुपर्ने छ ।

पछिल्लो समय भारत हुँदै तेस्रो मुलुकमा मानव तस्करीको संख्यामा वृद्धि भएसँगै भारतले नेपालीहरु माथि अध्यागमन पार गर्न कडाइ गर्दै आएको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us