पत्रकारको पक्षमा उभियो कांग्रेस, सदनमा के भन्यो ?

काठमाण्डु टुडे २०७६ वैशाख ३१ गते १२:३१ मा प्रकाशित

काठमाण्डु, ३१ वैशाख – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मिडिया काउन्सिल विधेयक फिर्ता लिन सरकारलाई आग्रह गरेको छ ।

मंगलबार सदनमा बोल्दै नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले संविधानको मर्म र भावनाविपरीत ल्याइएको विधेयक फिर्ता लिन माग गरे ।

‘संविधानमा प्रेस स्वतन्त्रता सुनिश्चित छ । तर विधेयक बनाउँदा मौलिक अधिकार कुण्ठित गराउने कानुन ल्याउन खोज्ने ?,’ खाँणले प्रश्न गरे ।

सदनमा गत बिहीबार सरकारले दर्ता गरेको मिडिया काउन्सिल विधेयक सरकारले फिर्ता लिनुपर्ने उनले बताए ।

‘विधेयक फर्काएर लैजानुस् ,’ उनले भने ।

सरोकारवाला पक्षसँग छलफल र सहमति नगरी विधेयक सदनमा दर्ता गरेको भन्दै कांग्रेसले विधेयक फिर्ता लिन माग गरेको हो ।

मिडिया काउन्सिल विधेयकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हनन् गर्ने भन्दै नेपाल पत्रकार महासंघ, नेपाल प्रेस युनियन पनि आन्दोलनमा छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us