
काठमाण्डु, ३१ वैशाख – आज पनि देशभर मौसम बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।दिउँसोतिर देशका केही स्थानमा हावाहुरी र मेघगर्जनसहित वर्षा तथा उच्च हिमाली भेगमा हिमपात हुने सम्भावना छ ।
आगामी तीन दिनसम्म हावाहुरी, मेघगर्जनसहितको वर्षाको सम्भावना रहेको र दुई दिनसम्म उच्च हिमाली भेगमा हिमपातको पनि सम्भावना नरहेको महाशाखाले जनाएको छ ।
मौसमविद् विभूति पोखरेलले विशेष गरी पहाडी क्षेत्रमा वर्षाको सम्भावना रहेको बताइन् । प्रि–मनुसुनको सिजन भएकाले वर्षासँगै हावाहुरी र चट्याङको पनि सम्भावना रहने मौसमविद् पाखरेलको भनाइ छ ।
पश्चिमी र स्थानीय दुवै वायु दिउँसोदेखि सक्रिय हुने भएकाले आगामी तीन दिनसम्म मौसम खुल्ने सम्भावना नरहेको उनले बताइन् ।
मौसम पूर्वानुमान महाशाखाले जारी गरेको तीन दिनको मौसम विवरणः
वैशाख ३१ गते मंगलबार
दिउँसोः देशभरि आंशिकदेखि सामान्यसम्म बदली रही केही स्थानमा मेघ गर्जन, हावाहुरीसहित वर्षाको सम्भावना छ । उच्च हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।
रातिः देशभरि आंशिकदेखि सामान्यसम्म बदली रही देशका थोरै स्थानमा मेघ गर्जन, हावाहुरीसहित वर्षाको सम्भावना छ । उच्च हिमाली भूभागमा हल्कादेखि मध्यमसम्म हिमपात सम्भावना छ ।
जेठ ०१ गते बुधबार
दिउँसोः देशभरि आंशिकदेखि सामान्यसम्म बदली रही पश्चिमका थोरै स्थानमा र मध्य र पूर्वका केही स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना छ । उच्च हिमाली भूभागमा हल्कादेखि मध्यमसम्म हिमपातको सम्भावना छ ।
रातिः देशभरि आंशिकदेखि सामान्यसम्म बदली रही देशका पहाडी भूभागमा मेघ गर्जनसहित वर्षाको सम्भावना छ । उच्च हिमाली भूभागमा हल्कादेखि मध्यमसम्म हिमपातको सम्भावना छ ।
जेठ ०२ गते बिहीबार
दिउँसोः देशभरि आंशिकदेखि सामान्य बदली रही पश्चिम र मध्य पहाडीका थोरै स्थानमा र पूर्वका केही स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना छ ।
रातिः देशभरि आंशिकदेखि सामान्यसम्म बदली रही देशका केही भूभागमा मेघ गर्जनसहित वर्षा सम्भावना छ ।