ठमेलमा प्रहरीले पक्रियो कस्तुरीको बिणा

काठमाण्डु टुडे २०७६ वैशाख ३० गते १७:४२ मा प्रकाशित

काठमाण्डु, ३० वैशाख – प्रहरीले संरक्षित वन्यजन्तु कस्तुरीको बिणासहित ३ जनालाई ठमेलबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा स्याङजाका ३८ वर्षीय चित्रबहदुर थापा, संखुवासभाका ३८ वर्षीय ईन्द्र कुमार राई र संखुवासभाकै २८ वर्षीय सन्देश अछामे रहेका छन् ।

उनीहरुलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले टोलीले ठमेलको भगवानबहालबाट पक्राउ गरेको हो । उनीहरुको साथबाट करिब २१ ग्राम तौल भएको कस्तुरीको बिणा १ थान बरामद गरिएको प्रहरीले जनाएको छ ।

सो ठाउँमा कस्तुरीको बिणा अवैध रुपमा ओसारपसार तथा बेचबिखन गर्न लागेको भन्ने गोप्य सूचना प्राप्त हुनासाथ ब्यूरोबाट खटिएको टोलीले पक्राउ गरेको ब्यूरोका एसपी सुदीप गिरीले जानकारी दिए ।

पक्राउ परेका तीनै जनालाई आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय हात्तीसार, काठमाण्डु पठाइएको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us