
काठमाण्डु, ३० वैशाख – काठमाण्डुमा आफ्नै घरमा काम गर्ने कामदारकी ७ वर्षीया छोरीलाई बलात्कार फरार रहेका एक अभियुक्त कञ्चनपुरमा पक्राउ परेका छन् ।
बानेश्वरस्थित मिलिजुली चोकमा सात वर्षीया बालिकाको बलात्कार गरी फरार रहेका भुवन भन्ने राजु खरेललाई महानगरीय अपराध महाशाखाको समन्वयमा कञ्चनपुर प्रहरीले बेलौरीबाट सोमबार पक्राउ गरेको हो ।
खरेलले बालिकालाई करिब दुईमहिना अगाडि बलात्कार गरेको भए पनि एक हप्ता अगाडि मात्रै महानगरीय प्रहरी वृत्त बानेश्वरमा उजुरी परेको थियो । त्यही उजुरीका आधारमा प्रहरीले उनको खोजी कार्य अगाडि बढाएको थियो ।
उजुरीपछि प्रहरीले अभियुक्त खरेलको फोन नम्बरमार्फत उनलाई निगरानी राखेको थियो । त्यही निगरानीका आधारमा अपराध महाशाखाको समन्वयमा कञ्चनपुर प्रहरीले उनलाई पक्राउ गरेको हो ।
नेपाल प्रहरीका भगौडा सिपाही समेत रहेका उनी प्रहरीमा उजुरी परेपछि भारततर्फ भाग्न खोजेको प्रहरीको अनुमान छ । उनलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ ।