कारबाहीको माग गर्दै गृहमन्त्रीलाई इन्जिनियरहरूले बुझाए ज्ञापनपत्र

काठमाण्डु टुडे २०७६ वैशाख ३० गते १४:५५ मा प्रकाशित

काठमाण्डु, ३० वैशाख – इन्जिनियरलाई धम्की दिनेलाई कारबाहीको माग गर्दै नेपाल इन्जिनियर एशोसिएसन प्रदेश ३ ले गृहमन्त्री रामबहादुर थापालाई ज्ञापन पत्र बुझाएको छ ।

अछामको पूर्वाधार विकास कार्यालय साँफेबगरमा कार्यरत इन्जिनियर जंगबहादुर थापालाई जिल्ला समन्वय समिति अछामका सदस्य वेदप्रकाश तिमिल्सिनाले ज्यान मार्ने धम्की दिएको भन्दै इन्जिनियरहरुले सुरक्षाको माग गरेर गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् ।

झोलुङ्गे पूल निर्माण उपभोक्ता समिति सँग गरिएको सम्झौतालाई लिएर इन्जिनियरमाथी धम्की आएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
इन्जिनियरलाई गाली गरेको अडियो सामाजिक सञ्जालमा फैलिएको छ । यसअघि सिन्धुली र सिन्धुपाल्चोकमा इन्जिनियर कुटिएको र अहिले धम्की आएकोले काम गर्न असुरक्षित महसुस भएको इन्जिनियरहरुले गृहमन्त्रीलाई जानकारी गराए ।

ज्ञापन पत्र बुझ्दै गृहमन्त्री थापाले अछाममा इन्जिनियरमाथि ज्यान मार्ने धम्की आएको विषयमा आफूले निर्देशनसमेत दिइसकेकोले कारबाही हुने भन्दै ढुक्क भएर काममा जान इन्जिनियरहरुलाई आग्रह गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us