आइपिएलका सट्टेबाज कलैयाबाट पक्राउ

काठमाण्डु टुडे २०७६ वैशाख ३० गते ११:१४ मा प्रकाशित

काठमाण्डु, ३० वैशाख – भारतमा आईतबार राती समापन भएको इन्डियन प्रिमियर लिग (आइपिएल) को खेलमा हारजीतको जुवा खेलाउने र खेल्ने तीनजना शनिबार कलैयामा पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाराले भारतमा चलिरहेको आइपिएल क्रिकेट म्याचमा कलैयाका केही मानिसहरुले खेलमा रकम हारजित हुने गरी सट्टाबाजी खेली रहेको सुचनाको आधारमा छापा मारेर उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

प्रहरी टोलीले बारा कलैया घुसुकपुर टोल बस्ने हरेराम साहको घरमा सट्टाबाजी भईरहेको अवस्थामा हरेराम सहित दरोगा अंसारी र राकेश साहलाई क्रिकेट म्याचमा बाजी लगाएको नगद ९४ हजार सहित पक्राउ गरेको हो ।

बारा प्रहरीका प्रवक्ता डिएसपी रञ्जितसिंह राठौरले पक्राउ परेका तीनजना बिरुद्ध मुलुकी फौजदारी अपराध (संहिता) २०७४ को परिच्छेद ५ को दफा १२५ को उप दफा ४ बमोजिम सट्टाबाजी (जुवा) मुद्दामा कारबाही भइरहेको बताए ।

उनका अनुसार जिल्ला प्रशासन कार्यालय बाराबाट ५ को दिनको हिरासतमा राख्‍ने म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us