
काठमाण्डु, ३० वैशाख – नेपाली कांग्रेसनिकट नेपाल प्रेस युनियनले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको कार्यक्रम बहिष्कार गर्ने भएको छ ।
सञ्चारमन्त्री बाँस्कोटाले मिडियालाई नियन्त्रण गर्ने नियतले संसदमा मिडिया काउन्सिल विधेयक पेश गरेकोले बाँस्कोटा सहभागी हुने औपचारिक कार्यक्रम बहिष्कार गर्ने प्रेस युनियनको निर्णय छ ।
आइतबार युनियनका महासचिव अजयबाबु शिवाकोटीले जारी गरेको प्रेस विज्ञप्तिमा, ‘मिडियालाई नियन्त्रण गर्ने नियतबाट संसदमा मिडिया काउन्सिल विधेयक पेश गर्ने सञ्चारमन्त्रीका औपचारिक कार्यक्रम आजैका मितिबाट नेपाल प्रेस युनियनले बहिस्कार गर्ने र देशैभर तथा अन्तराष्ट्रिय शाखाहरुलाई समेत बहिस्कार गर्न निर्देशन दिने,’ भनिएको छ ।
सरोकारवाला पक्षसँग छलफल एक पटक पनि छलफल नगरी र सहमति बेगर नै सरकारले मिडिया विधेयक ल्याएको भन्दै युनियन आन्दोलनमा छ ।
युनियनले जेठ २ गते देशैभर मिडिया नियन्त्रण गर्न खोज्ने सरकारविरूद्ध प्रदर्शन गर्ने पनि निर्णय गरेको छ ।
सरकारले दर्ता गरेको विधेयकको विरोधमा पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघ पनि आन्दोलनमा होमिएको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पनि विधेयकलाई पत्रकारमाथिको कू भनेको छ ।