सरकारको नीति तथा कार्यक्रमलाई बाबुरामले बिरालोसँग तुलना गरेपछि…

काठमाण्डु टुडे २०७६ वैशाख २९ गते १२:०५ मा प्रकाशित

काठमाण्डु, २९ वैशाख – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्ने क्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले आफैँमाथि न्याय गर्न नसकेको आरोप लगाएका छन् ।

आइतबारबाट सुरु भएको पि–बजेट छलफलमा भाग लिँदै डा. भट्टराईले बजेटका सिद्धान्त र प्राथमिकता तय गर्ने क्रममा अर्थमन्त्रीले अल्छी गरेको भान भएको धारणा राखे ।

डा. भट्टराईले भने, ‘बजेटका सिद्धान्त र प्राथमिकतामा विद्वान अर्थमन्त्रीले आफैँमाथि न्याय गर्नुभएको जस्तो देखिएन’, डा. भट्टराईले अगाडि भने, ’बजेटका प्राथमिकता र सिद्धान्त लेख्ने बेला समयको अभाव वा इच्छाशक्तिको अभावले हो अर्ध निद्रामा भएको मान्छेले हाइ काढ्दै निबन्ध लेखेको जस्तो आयो । नविनता, सरसता, तीव्र ढंगले दिशाबोध गर्ने प्रतिबद्धता छैन । खाली कर्मकाण्डी प्रकारको दस्तावेज जस्तो आयो । बिरालो बाँधेर श्राद्ध गर्ने मात्रै विधि हुन्छ कि भन्ने चिन्ता लागेको छ । अलि समय लिएर जाँगर चलाएर दस्तावेज चलाउनु भए उहाँको र हाम्रो पनि सम्मान हुन्थ्यो’, डा. भट्टराईको सुझाव थियो, ‘हाम्रो अर्थतन्त्र तीव्र तवरले विकास भएको देखिन्छ तर यो रोगको कारणले मोटाएजस्तो देखिन्छ ।’

पूर्वअर्थमन्त्रीसमेत रहेका डा. भट्टराईले बजेटका प्राथमिकता र सिद्धान्त पेश गर्नु पहिले नै सरकारले नीति तथा कार्यक्रम जारी गरेकोमा पनि असन्तुष्टि पोखे । उनले भने, ‘प्रक्रिया नमिलेजस्तो लागेको छ । सरकारको नीति तथा कार्यक्रम आएर पारित भइसकेको छ । त्यसले बजेट लगायत सरकारका वर्षभरीका कार्यक्रम आइसेका छन् । सांसदहरूले कुरा राख्न पाएर नीति तथा आएको भए सुझाव समेटिएको भए हुन्थ्यो । यो उल्टो भयो भन्ने लागेको छ ।’

त्यसैगरी, संघीयताको कार्यान्वयन पूर्ण ढंगले भइनसकेको पनि भट्टराईको भनाइ थियो । उनले प्रदेश र स्थानीय तह निरीह ढंगले अगाडि गइरहेका बेला सघींयता कार्यान्वयन पूर्ण रूपमा भइसकेको भन्न नमिल्ने बताए ।

‘संविधान संशोधनको अवस्था नरहेको भनेर दम्भपूर्ण ढंगले राखियो यो सही होइन । संविधान संशोधन गरेर अगाडि बढेन भने दिगो शान्ति हुँदैन । दिगो शान्ति नभएसम्म विकास सम्भव छैन’, डा. भट्टराईको भनाइ थियो ।

उनले सुशासनमा पनि सरकारले ध्यान दिनुपर्ने धारणा राखे । उनले वैदेशिक लगानी यो वर्ष कम आएकाले पनि गम्भीर भएर अगाडि जानुपर्ने धारणा राखे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us