अष्ट्रेलिया, २९ वैशाख – गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष भवन भट्टले बालुवाटारस्थित संघ कार्यालय रहेको जग्गा सरकारले फिर्ता लगेमा क्षतिपूर्ति दिनुपर्ने बताएका छन् ।
अष्ट्रेलियाको सिड्नीमा भएको ओसेनिया क्षेत्रको बैठकपछि पत्रकार सम्मेलनमा बोल्दै उनले आवश्यक परे मन्त्रिपरिषद् बैठकमा उक्त निर्णय लैजाने बताएका हुन् । एनआरएनएले २०७२ जेठ १४ गते ललिता निवास क्याम्पाभित्रको जग्गा खरिद गरेको थियो । तत्कालीन उपाध्यक्ष भट्ट त्यतिबेला जग्गा खरिद गर्ने कार्यका लागि एनआरएनएद्वारा गठित समितिको संयोजक थिए ।
भाटभटेनी मालिक मीनबहादुर गुरुङसँगको साँठगाँठमा संघले सो जग्गा खरिद गरेको थियो । त्यतिबेला संघको अध्यक्ष शेष घले थिए ।
अध्यक्ष भट्टले भने, ‘यदि सरकारले यो गलत काम भयो भन्छ भने त्यसमा हाम्रो जति खर्च भएको छ त्यो सरकारले क्षतिपूर्ति दिनुपर्छ । बकाइदा राजश्व तिरेर, लालपूर्जा लिएर, नगरपालिकाको निर्माण अनुमति लिएर र भवन सम्पन्नको सर्टिफिकेट लिइसकेको सम्पत्तिलाई कसरी फिर्ता लान पाइन्छ ?’
मन्त्रिपरिषदबाट निर्णय गराएरै जग्गा लिएको उनको भनाइ थियो । आवश्यक परे फेरि पनि मन्त्रिपरिषदबाट निर्णय गराउने उनले बताए । ‘क्याबिनेट डिसिजन गराएरै लिएको चिज हो फेरि आवश्यक पर्यो भने क्याबिनेटमै जान्छौं’, अध्यक्ष भट्टले भने, ‘सरकारको जग्गा बेच्ने मान्छे गलत हो । कि उसलाई कारवाही गरेर सरकारले हामीलाई क्षतिपूर्ति दिनुपर्यो ।’