
पाकिस्तान, २९ वैशाख – चीन–पाकिस्तान आर्थिक करिडोरअन्तर्गत चीनले बन्दरगाहलगायत संरचना बनाइरहेको पाकिस्तानको ग्वादरको एक पाँचतारे होटलमा शनिबार साँझ आतंकवादी आक्रमण भएको छ । तीन जना बन्दुकधारीले जाभेर पर्ल–कन्टिनेन्टल होटलमा आक्रमण गरेका हुन् । होटलका सुरक्षा गार्डलाई गोली हानेर बन्दुकधारी भित्र पसेका थिए ।
मुस्लिमहरूको पवित्र महिना रमजान भएकाले होटलमा कुनै पाहुना थिएनन् । होटलका प्रवक्ताले कर्मचारी पनि निकै कम भएकाले बन्दुकधारीको आक्रमणबाट थप क्षति नभएको बताए । ग्वादरमा बाक्लो मात्रामा सुरक्षाकर्मी रहेकोले केहीबेरमै सुरक्षाकर्मी होटलमा पसेर बन्दुकधारीलाई नियन्त्रणमा लिएका थिए ।
आक्रमण जिम्मा पृथकतावादी समूह बलोचस्तान लिबरेसन आर्मीले लिएको छ ।
ग्वादरमा भइरहेको चिनियाँ लगानीको विरोधमा उक्त आक्रमण गरिएको अझै थप आक्रमण गर्ने उसको चेतावनी छ ।
ग्वादर बन्दरगाहबाट अरेबियन सागरसँग जोडिन चीनले ग्वादरमा महत्वपूर्ण संरचना बनाइरहेको छ । बलोचस्तान लिबरेसन आर्मीले भने चिनियाँ लगानीबाट स्थानीयलाई केही फाइदा नहुने भन्दै विरोध गर्दै आएको छ । गत वर्ष उक्त समूहले कराँचीस्थित चिनियाँ महावाणिज्यदूतावासमा पनि आक्रमण गरेको थियो ।
इस्लामावादस्थित चिनियाँ राजदूतावासले आफ्नो देशले बनाइरहेको बन्दरगाहनजिकैको होटलमा भएको आक्रमणको निन्दा गरेको छ ।
इरान र अफगानिस्तानसँग सीमा जोडिएको बलोचस्तान पाकिस्तानको गरीब प्रान्तमध्ये पर्छ । यहाँ विभिन्न विद्रोही समूह क्रियाशील छन् ।